Technology Khabar १३ पुष २०८०, शुक्रबार
काठमाडौं ।
भौगोलिक तवरले ठूलो देश भारतमा मूसलधारे वर्षा, बाढी र खडेरी तीव्र रूपमा वृद्धि भएसँगै मौसम पूर्वानुमान सुधार गर्नका लागि भनेर भारतले क्लाईमेट मोडल्स (जलवायु मोडलहरू) निर्माण गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को परीक्षण गरिरहेको एक शीर्ष जलवायु अधिकारीले बताएका छन्।
ग्लोबल वार्मिङले हालैका वर्षहरूमा भारतमा वेदर सिस्टमको उच्च प्रकोपलाई निम्त्याउनुका साथै चरम मौसमी घटनाहरू बढ्दै गएको र जसमा यस वर्ष लगभग ३,००० मानविय क्षति भएको इन्डिपेन्डेन्ट सेन्टर फर साइन्स एण्ड इन्भाइरोमेन्टले अनुमान गरेको रोयटर्सले रिपोर्ट गरेको छ।
संसारभरका जलवायु एजेन्सीहरूले एआईमा आफ्नो ध्यान केन्द्रित गरिरहेका छन्। साथै यसले गर्दा लागत घट्ने र गतिमा पनि सुधार हुने सम्भावना भएकाले यसले मौसम पूर्वानुमानमा “क्रान्ति” ल्याउन सक्ने बेलायतको मौसम कार्यालयले बताएको छ भने हालैको गुगल–वित्त पोषित मोडलले परम्परागत विधिहरू भन्दा राम्रो प्रदर्शन गरेको फेला पारेको उल्लेख छ।
कुल १ अर्ब ४० करोड जनसंख्यामा अधिक जनसंख्या गरिबीको रेखामुनि रहेको देश भारत चामल, गहुँ र चिनीको विश्वको दोस्रो ठूलो उत्पादक भएकोले सटीक मौसम पूर्वानुमान विशेष गरी महत्त्वपूर्ण छ।
भारतीय मौसम विज्ञान विभागले सुपर कम्प्युटरहरू प्रयोग गरेर गणितीय मोडलहरूमा आधारित पूर्वानुमान प्रदान गर्दछ। विस्तारित अवलोकन नेटवर्कको साथ एआई प्रयोग गर्नाले कम लागतमा उच्च–गुणस्तरको पूर्वानुमान डाटा उत्पन्न गर्न मद्दत गर्न सक्ने उल्लेख गरिएको छ।
‘विभागले विकास गरिरहेको एआई–बेस्ड (आधारित) क्लाईमेट मोडल र सल्लाहहरूले पूर्वानुमान सुधार गर्नका लागि मद्दत गर्ने आशा गर्दछ’ आईएमडीका जलवायु अनुसन्धान र सेवा प्रमुख के.एस. होसालिकरले भने।
मौसम कार्यालयले हिटवेभ्स (गर्मीको लहर) र मलेरिया जस्ता रोगहरूको बारेमा सार्वजनिक सतर्कता उत्पन्न गर्न एआई प्रयोग गरेको होसालीकरले बताए। यसले मौसम पर्यवेक्षणहरू बढाउने, गाउँ तहसम्म डाटा उपलब्ध गराउने, पूर्वानुमानका लागि उच्च रिजोलुसन डाटा प्रदान गर्ने योजना बनाएको उनले थप जानकारी दिएको रिपोर्टमा भनिएको छ।
प्रकाशित: १३ पुष २०८०, शुक्रबार