टेलिकमको फाइबर नेट बिस्तारमा तीव्रता

  • Technology Khabar | ४ पुष २०८०, बुधबार
टेलिकमको फाइबर नेट बिस्तारमा तीव्रता
नेपाल टेलिकमको बनाेपास्थित कार्यालय तथा टेलिकम टावर। फाइल तस्विर।

काठमाडौं ।

नेपाल टेलिकमले सुरु गरेको फाइबर नेट सुविधा प्रयोग विस्तार गर्ने क्रमलाई तीव्रता दिएको छ । टेलिकमले (फाइबर टु दी होम) अन्तर्गत जिल्लाका विभिन्न स्थानमा फाइबर नेट सेवालाई विस्तार गर्ने कामलाई जोड दिएको छ ।

नेपाल टेलिकम बनेपा शाखाले मङ्गलबार एक कार्यक्रमको आयोजना गर्दै जिल्लाको धुलिखेल नगरपालिका–१२, शङ्खु क्षेत्रमा फाइबर नेट सेवा विस्तार गरेको हो ।

कार्यक्रममा टेलिकमकी निमित्त प्रबन्धक निर्देशक सङ्गीता पहाडीले टेलिकमले पछिल्लो तीन वर्षदेखि नागरिकलाई द्रूत गतिको (हाई स्पिड) इन्टरनेट सेवा प्रदान गर्नका लागि काम अघि बढाएको बताईन्। उनले टेलिकमले तीन वर्षको अवधिमा देशभरका तीन लाख ग्राहकलाई द्रुत गतिको इन्टरनेट सेवा पुर्याएको बताउँदै १५ लाख ग्राहकसमक्ष द्रूत गतिको इन्टरनेट सेवा प्रवाह गर्नका लागि पूर्वाधार निर्माण सम्पन्न गरेको बताईन्।

“१० वर्षअघि ‘नागरिकको हातहातमा मोबाइल’ भन्ने नारा लिएर अघि बढेका थियौँ, अहिले एउटा हातमा मात्रै होइन दुवै हातमा मोबाइल
पुर्याउन सक्षम भएका हौँ। अहिले टेलिकमको उद्देश्यले भनेको हरेक नेपालीको घरघरमा हाई ब्यान्डविथ भएको इन्टरनेट पुर्याउने लक्ष्य हो, त्यसका लागि टेलिकमले तीन वर्षदेखि काम गर्दै आएको छ,” प्रबन्ध निर्देशक पहाडीले भनिन्।

प्रबन्ध निर्देशक पहाडीले टेलिकमले सरकारलाई वार्षिक २६ अर्ब रुपियाँ राजस्व बुझाउँदै देशको अर्थतन्त्रमा टेलिकमको आठ प्रतिशत योगदान रहेको दाबी गरिन्।

कार्यक्रममा नेपाल टेलिकम प्रादेशिक निर्देशनालयकी निर्देशक रिना डङ्गोलले टेलिकमले स्थानीय नागरिकको मागका आधारमा फाइबर नेट सेवा विस्तार गर्ने काम गर्दै आएको बताईन्।

टेलिकमले फाइबर नेट विस्तार गर्ने क्रममा पुराना ग्राहकलाई एक महिना निःशुल्क इन्टरनेट सेवा, सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत जिल्लाका १५ ओटा सामुदायिक विद्यालयलाई एक वर्ष निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न लागेको छ।

प्रकाशित: ४ पुष २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...