धार्चेको माछिखोला बजार सिसी क्यामराबाट निगरानी

  • Technology Khabar | ३ पुष २०८०, मंगलवार
धार्चेको माछिखोला बजार सिसी क्यामराबाट निगरानी
सांकेतिक तस्बिर

काठमाडौं ।

उत्तरी गोरखाको धार्चे गाउँपालिकाको सदरमुकाम रहेको माछिखोला बजारलाई सिसी क्यामरामार्फत निगरानी गर्न थालिएको छ।

गाँउपालिकाको केन्द्र रहेको माछाखोला बजारमा शुक्रबारदेखि सिसी क्यामेरा जडान गरी निगरानी गर्न थालिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए।

‘‘माछिखोलामा बजार क्षेत्र विस्तारसँगै सुरक्षाको चुनौती बढेकाले बजारमा सिसी क्यामेरा जडान गरिएको छ,” उनले भने, ‘‘थोरै सुरक्षाकर्मी रहेकाले बजारलाई सुरक्षित राख्न माछिखोला बजारसहित आसपासका सात ठाउँमा सिसीक्यामेरा जडान गरिएको छ।”

अहिले जडान गरिएका क्षेत्रबाहेक आवश्यकताअनुसार अझै बजार क्षेत्रमा क्यामरा थप गर्दै लैजाने अध्यक्ष गुरुङले जानकारी दिए। अहिले बसपार्क क्षेत्रमा दुई ओटा, रेसेखोला क्षेत्र, जनजागृति स्कुल तथा सो क्षेत्रमा रहेको बजारसमेटिने गरी तीनओटा क्यामरा जडान गरिएको छ।

त्यस्तै गाउँपालिका भवन क्षेत्रको उत्तर दक्षिण बजार समेट्ने गरी दुई र तल्लो बजार क्षेत्रमा एउटाका साथै पालिका कार्यालयभित्र थप चार ओटा क्यामेरा जडान गरिएको छ।

जडान गरिएका सिसी क्यामेरा रातको समयमासमेत स्पस्ट देख्न सकिने क्षमताको रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले बताए।

“माछिखोला बजार क्षेत्रको सुरक्षाका लागि जडान गरिएको क्यामेरा चौविसै घण्टा सञ्चालनमा आउनेछन्”, उनले भने, ‘‘रातदिन सञ्चालन गर्नाका लागि विद्युत्को समस्या नहोस् भनेर सोलारसहित क्यामरा जडान गरिएको छ। जडान भएका सातओटा क्यामराले बजार क्षेत्रको सहजै अनुमगन गर्न सकिन्छ।”

क्यामरा जडानका लागि करिब पाँच लाख रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ। रासस

प्रकाशित: ३ पुष २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×