
काठमाडौं ।
एनसेल र धुलिखेल अस्पतालसँगको सहकार्यमा संचालनमा रहेको एनसेल टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम देशको स्वास्थ्य सेवाको पहुँच प्रदान गर्ने पद्धतिमा एउटा कोशेढुङ्गा र क्रान्ति नै सावित भएको छ।
यो कार्यक्रमको सफलतासँगै बाग्मती प्रदेश सरकारले पनि टलिमेडिसिन सेवालाई अन्य अस्पताल र स्वास्थ्य केन्द्रमा पनि रेप्लिकेट अर्थात लागु गरेको छ।
एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) पहल अन्तर्गत सन् २०१९ मा प्रविधि तथा तथ्याङ्कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामिण, दूरदराजका सेवाबाट बन्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यका साथ यो कार्यक्रम शुरु गरिएको थियो ।
पहलको कार्यान्वयनसँगै ग्रामीण भेगका १५,००० भन्दा बढी घरधुरीका ८० हजार भन्दा बढी स्थानियवासीहरुले गुणस्तरीय स्वास्थ्य सेवाको सहज पहुँच पाएका छन्।
सिन्धुपाल्चोकको मानेखर्क, खोलुखुम्बुको डोर्पु, नुवाकोटको थाङ्गसिन र काभ्रेपलाञ्चोकको बोल्डेमा रहेका धुलिखेल अस्पताल अन्तर्गतका चार सामुदायिक स्वास्थ्य केन्द्रहरु मार्फत कार्यक्रम संचालनमा रहेको छ। स्थानियहरुले दीर्घ रोग, नसर्ने रोग, सरुवा रोग लगायतका रोगहरुको उपचार सेवा पाईरहेका छन्।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, “यो कार्यक्रमले हामीले समुदायको विकासमा कसरी योगदान पुर्याएका छौं भन्ने उजागर गर्दछ। यहाँ म ‘हामी तपाईँकै लागि’ भन्ने हाम्रो ब्रान्ड थिम पुनः दोहोर्याउन चाहन्छु। यसको अर्थ एनसेल नेपाल र नेपालीको सेवा र विकासमा योगदान पुर्याउन प्रतिवद्ध छ। डिजिटल राष्ट्र निर्माण र इको–सिस्टमको रूपान्तरणमा योगदान पुर्याउँदै, प्रविधि र डाटामा आधारित स्वास्थ्य सेवा विधिहरू प्रयोग गरी गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्न पाउँदा अत्यन्तै खुसी छौं।”
यो कार्यक्रमको छुटै र नौलो विशेषता भनेको व्यक्तिगत स्वास्थ्य कार्यक्रम अर्थात पर्सनलाईज्ड हेल्थ प्रोग्राम (पीएचपी) हो। जस अन्तर्गत कार्यक्रम संचालन भएका क्षेत्रका जन समुदायका स्थानियहरुले व्यक्तिगत स्वास्थ्य सेवा पाउँछन्।
एनसेलकाअनुसार सामुदायिक स्वास्थ्य केन्द्रहरुले त्यहाँका स्थानिय मानिसहरुको स्वास्थ्य सम्बन्धी नियमित जाँच र समयमा नै आवश्यक स्वास्थ्य उपचार गर्दछन् र साथै उनीहरुको स्वास्थ्यमा सुधार गर्नका लागि तथ्याङ्कमा आधारित भई आवश्यक कार्यहरु पनि गरिन्छ।
एनसेलको धुलिखेल अस्पतालसँगको यो संयुक्त पहलले देशको स्वास्थ्य क्षेत्रमा एक महत्वपूर्ण छाप छोड्न सफल भएको छ। धुलिखेल अस्पतालका अनुसार काभ्रेको धुलिखेल नगरपालिका र पाँचखाल नगरपालिकाले पीएचपीलाई रेप्लिकेट गरेको छन् भने अन्य नगरपालिकाहरुले यसको कार्यान्वयन गर्न चासो राखेका छन्।
यसैगरी, चारवटा सामुदायिक स्वास्थ्य केन्द्रहरुमा टेलिमेडिसिन सेवाको सफल संचालनपछि बागमती प्रदेश सरकारले धुलिखेल अस्पतालसँगको सहकार्यमा दुई ओटा ग्रामीण अस्पताल र तीनवटा स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवाको सोही मोडललाई कार्यान्वयनमा ल्याएका छन्।
धुलिखेल अस्पतालका पब्लिक हेल्थ एन्ड कम्यूनिटी प्रोग्राम डाईरेमक्टर डा. विराज कर्माचार्यले भने, “एनसेल र धुलिखेल अस्पतालको यो सहकार्यले दुरदराजका समुदायहरुलाई स्वास्थ्य सेवाको पहुँच प्रदान गर्ने पद्धतिमा एउटा क्रान्ति नै ल्याएको छ।
बागमती प्रदेश सरकारले धुलिखेल अस्पतालको सहकार्यमा रामेछापको मन्थली अस्पताल, रसुवाको जिवजिवे ग्रामिण अस्पताल, सिन्धुलीको लाम्पनटर प्राथमिक स्वास्थ्य केन्द्र, धादिङको सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र र नुवाकोटको खरानीटार प्राथमिक स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवा रेप्लिकेट गरेको छ। यी अस्पतालहरु र स्वास्थ्य केन्द्रहरुका लागि धुलिखेल अस्पतालले एक हब अस्पतालको रुपमा रही सेवा प्रदान गर्दैछ र यसले १ लाख ५० हजार भन्दा बढी स्थानियहरुलाई टेलिमेडिसिन सेवाको लाभ दिनेछ।
अत्याधुनिक टेलिमेडिसिन किटमार्फत दुरदराजमा रहेका स्थानियहरुले आफ्नो नजिकैको स्वास्थ्य केन्द्रमार्फत आफ्नै गाउँठाउँमा धुलिखेलमा रहेका विषेशज्ञ डाक्टरहरुबाट स्वास्थ्य सबन्धी परामर्श लिन सक्छन्। उनीहरुलाई धुलिखेल अस्पताल वा नजिकैको अन्य कुनै अस्पतालमा गईरहनु पर्ने आवश्यकता रहँदैन्।
प्रकाशित: २९ मंसिर २०८०, शुक्रबार