भारतमा साइबर अपराधीले टेक कम्पनी इन्फोसिसकै अधिकृतलाई ठगे भारु ३.७ करोड

Technology Khabar १६ मंसिर २०८०, शनिबार

काठमाडौं ।

साइबर क्राइमका घटनाहरु विश्वभर निरन्तर बाहिर आइरहेका बेलामा भारतको टेक कम्पनी इन्फोसिसका एक वरिष्ठ अधिकृतलाई ठगेको समाचार बाहिर बएको छ। रिपोर्टकाअनुसार पीडित महिला कर्नाटकको बैंगलोरकी हुन्।

भारतको दूरसञ्चार नियामक प्राधिकरण (ट्राई), सीबीआई र मुम्बई प्रहरीका अधिकारी हुँ भन्दै साइबर अपराधीहरूले उनलाई ठगी गरेका छन्। अपराधीहरूले इन्फोसिसकी ती अधिकृतलाई सम्पत्ति शुद्धीकरणलगायतका विभिन्न मुद्दामा पक्राउ गर्ने धम्की दिएर दुई दिनमा ३.७ करोड भारतीय रुपैयाँ लुटेका थिए।

टीओआईको रिपोर्ट अनुसार, पीडितले नोभेम्बर २१ मा कल प्राप्त गरीन्। फोन गर्नेहरूले आफूलाई ट्राई, सीबीआई र मुम्बई पुलिसका अधिकारीहरूका रूपमा चिनाउने गरेका थिए।

पीडितले मुम्बईको वाकोला पुलिस स्टेशनमा उनको विरुद्धमा आपराधिक मुद्दा दर्ता भएको बताएका थिए। जसमा पीडितको नाममा सिमकार्ड राखेर गैरकानुनी विज्ञापन पोष्ट गर्ने गरेको आरोप थियो। पीडितले उक्त फोन नम्बर आफ्नो नभएको बताएकी छन्। त्यसमा पीडितले आफ्नो आधार नम्बर प्रयोग गरेर सिम खरिद गरेको साइबर अपराधीहरुले बताएका थिए।

त्यसपछि पीडित इन्फोसिसकी वरिष्ठ अधिकृतको कल अर्को व्यक्तिलाई हस्तान्तरण गरियो, जसले आफूलाई मुम्बई पुलिसको वरिष्ठ अधिकारीको रूपमा चिनाएका थिए। उनले पीडितलाई अनुसन्धानमा सामेल हुनुपर्ने बताए। जसमा दिल्ली-मुम्बईमा सीबीआई अधिकारीहरूसँग भेट्नुपर्छ, अन्यथा गिरफ्तारी हुन सक्ने चेतावनी अपराधीहरुले दिएका थिए।

त्यसपछि एउटा भिडियो कल पनि भयो, जसमा प्रहरी चौकी देखिन्थ्यो र केही मानिस वर्दीमा थिए। पीडितलाई आश्वस्त पार्न अपराधीहरूले आफ्नो परिचयपत्र र उजुरीको प्रतिलिपि पनि देखाएका थिए।

त्यसपछि उनलाई समस्या समाधान गर्न, खातामा पैसा ट्रान्सफर गर्न भनियो। रिपोर्टका अनुसार आतंकित इन्फोसिस कर्मचारीले नोभेम्बर २१ र २३ को बीचमा विभिन्न बैंक खाताहरूमा भारु ३.७ करोड ट्रान्सफर गरिन्। त्यसपछि पीडितले आफू ठगिएको थाहा पाईन् र उनले प्रहरीमा उजुरी दिएकी थिईन्।

रिपोर्टकाअनुसार भारतीय पुलिसले आईपीसीको धारा ४१९ र ४२० अन्तर्गत मुद्दा दर्ता गरेको छ। ठूलो रकम हिनामिना भएको हुँदा यस्तो अवस्थामा मुद्दा सीआईडीमा हस्तान्तरण गरी अपराधीहरूको खाता रोक्का गर्न बैंकलाई भनिएको छ।

प्रकाशित: १६ मंसिर २०८०, शनिबार

तपाइको प्रतिक्रिया