लुम्बिनी प्राविधिक विश्वविद्यालयका पहिलो ब्याचका विद्यार्थीलाई अभिमुखीकरण

Technology Khabar १५ मंसिर २०८०, शुक्रबार

काठमाडौं ।

लुम्बिनी प्रदेश सरकारको गौरवको योजना अन्तर्गत स्थापना गरेर सञ्चालनमा आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयले आफ्ना पहिलो वर्षका पहिलो ब्याचका विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम गरेको छ।

बुधबार नेपालगन्जमा सम्पन्न अभिमुखीकरण कार्यक्रममा विश्वविद्यालयले सञ्चालन गरेको ‘बि टेक इन सिएस एण्ड एआई’ र ‘बि टेक इन आइटी’ कोर्षको स्नातक तहमा नयाँ भर्ना भएका पहिलो ब्याचका विद्यार्थीलाई विभिन्न विषयमा अभिमुखीकरण प्रस्तुति प्रदान गरिएको विश्वविद्यालयका सचिव रेगबहादुर भण्डारीले जानकारी दिए।

कार्यक्रममा विश्वविद्यालयका डीन कीर्ति जोशीले विश्वविद्यालयले टुरिजम, इन्जिनियरिङ, आइटी, फरेष्ट्री र एग्रीकल्चर गरी पाँच ओटा कोर्षमा अध्यापन गराइने योजना रहेपनि पहिलो वर्षमा इन्जिनियरिङ र आइटी विषयको कोर्षको मात्र कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।

“टुरिजम, इन्जिनियरिङ, आइटी, फरेष्ट्री र एग्रीकल्चर गरी पाँच ओटा कोर्षमा अध्यापन गराइने योजना रहेपनि पहिलो वर्षमा इन्जिनियरिङ र आइटी विषयमा मात्र अध्यापन सञ्चालन गरेका छौँ, अन्य विषयहरू आगामी वर्षहरूमा थप गर्दै लैजान्छौँ,” उनले भने, “हाम्रो अन्य कुनै विश्वविद्यालयसँगको प्रतिस्पर्धा होइन। हामी आफैँले गुणस्तरीय शिक्षा, उपलब्धिमूलक शिक्षा, जागिर सुनिश्चिततासहितको शिक्षा तथा समाजका लागि उत्तरदायी विद्यार्थी उत्पादन गर्ने शिक्षा प्रदान गर्ने हो।”

सेवा आयोग सदस्य डा. कृष्णप्रसाद घिमिरेले विश्वविद्यालयले व्यवहारमुखी शिक्षा प्रदान गर्नुपर्ने र विद्यार्थीले पनि व्यवहारिकरुपमा ज्ञान तथा सीप सिकेर लागू गर्नुपर्ने बताए।

लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका सचिव सुमन घिमिरेले विद्यार्थीलाई आफू व्यवस्थापक बन्ने हो कि मालिक बन्ने हो ? भन्ने विषयमा पहिले कन्फर्म हुनुपर्ने बताए। उनले प्रविधि क्षेत्र अत्यन्तै फराकिलो भएको भन्दै यस क्षेत्रमा विद्यार्थीको भविष्य सुन्दर भएको बताए।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डा. विनोदप्रसाद ढकालले विश्वविद्यालयको यो पहिलो वर्ष भएको हुँदा विद्यार्थीलाई केही दुःख, केही असहजता तथा केही समस्या आउन सक्ने भन्दै त्यसता विषयलाई म्यानेज गरेर अगाडी बढ्नका लागि सल्लाह दिए।

विश्वविद्यालयले इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानमा शैक्षिक सत्र २०८०/०८१ का लागि स्नातक तहमा सञ्चालन भएको कार्यक्रम ‘बी टेक इन सीएस एण्ड एआई’ र ‘बी टेक इन आइटी’मा ५० जना विद्यार्थी भर्ना भइसकेको र पार्ट टाइम तथा फूल टाइम गरी दुई किसिमका शिक्षकसमेत व्यवस्था भइसकेको विश्वविद्यालयका सचिव भण्डारीले जानकारी दिए।

विश्वविद्यालयले ६ जनालाई पूर्ण निःशुल्क, १२ जनालाई पूर्ण शुल्कमा ७५ प्रतिशत छुट, ६ जनालाई स्थानीय तहबाट सिफारिस भएर आए बमोजिम र २४ जनालाई पूर्ण शुल्क तिर्नुपर्ने गरी विद्यार्थीका लागि निर्धारण गरिएको शुल्क कोटा अनुसार विद्यार्थी भर्ना गरेको जनाएको छ। विश्वविद्यालयका अनुसार मङ्सिर २० गते बुधबारका दिनदेखि पहिलो वर्षको पहिलो ब्याचका विद्यार्थीहरूको नियमितरुपमा पठनपाठन सुरु हुनेछ।

लुम्बिनी प्रदेश सरकारको गौरवको योजना अन्तर्गत लुम्बिनी प्राविधिक विश्वविद्यालय २०७९ असार १८ गते नेपालगञ्जमा स्थापना भएको थियो। खजुरा गाउँपालिकामा भएको जग्गामा विश्वविद्यालयको भौतिक संरचना नबन्दासम्म नेपालगन्जमा भएको प्रशासनिक भवनबाट विश्वविद्यालयले पहिलो वर्षको अध्यापन सञ्चालन गरेको हो।

प्रकाशित: १५ मंसिर २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया