Technology Khabar १५ मंसिर २०८०, शुक्रबार
काठमाडौं ।
ललितपुर महानगरपालिकाले महानगर उज्यालो अभियान अन्तर्गत स्मार्ट सडक बत्ती जडान गर्ने कार्य विस्तार गरेको छ। महानगरभरि नै रात्रिकालीन समयमा सहज रूपमा आवतजावत गर्न सकिने गरी महानगरपालिकाले सडक बत्ती विस्तार गर्ने कार्यलाई अभियानकै रूपमा अगाडि बढाएको हो।
महानगरपालिका वडा नंं २५ स्थित भैँसेपाटीमा महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्त रूपमा सडक बत्तीको उद्घाटन गरे।
ललितपुर महानगरपालिका र प्राधिकरणको साझेदारीमा जडान गरिएका स्मार्ट सडक बत्तीको संयुक्त रूपमा उद्घाटन गरेसँगै अब महानगरपालिका भित्र स्मार्ट सडक बत्तीको सङ्ख्या दुई हजार ७९ वटा पुगेको महानगरपालिकाले जनाएको छ।
महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले अब महानगरपालिकाको भैँसीपाटी, खोकना, धापाखेल, सुनाकोठी, हरिसिद्धिलगायतका चक्रपथबाहिरका प्रमुख सडकहरूमा स्मार्ट सडक बत्ती जडान भई रात्रिकालीन समयमा सहज आवतजावत गर्न सकिने भएको बताए।
महानगरपालिकाको ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत लागत साझेदारीमा उक्त सडक बत्ती जडान गरिएको हो।
नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले सडक विभागले सडक खन्न अनुमति नदिंदा काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणाली (तार)लाई भूमिगत बनाउने काम बेवारिसे बनेको बताए। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सरकारी निकायहरुबीचको समन्वय अभावमा ठूलो र महत्वपूर्ण आयोजना बेवारिस अवस्थामा पुग्नु दुर्भाग्यपूर्ण भएको उल्लेख गरे।
सडक विभागले आफ्नो अधिनमा रहेको सडक खन्न अनुमति नदिएपछि विद्युत् वितरण प्रणाली भूमिगत बनाउने आयोजनाको काम गत असारबाट ठप्प छ। कार्यकारी निर्देशक घिसिङले तार भूमिगत गर्ने कार्यमा सङ्लग्न निर्माण व्यवसायीहरु निर्माणस्थल छोडी हिंडिसकेको बताए।
यस्तो अवस्थामा आयोजना कार्यान्वयन भइरहेका पालिकाहरुका जनप्रतिनिधिले सडक विभागसँग समन्वय गरिदिएमा अझै पनि केही समय रहेको उल्लेख गर्दै घिसिङले सबैले जिम्मेवारी पूर्व काम गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले सडकको पेटीमा काम गर्न पालिकाहरुले अनुमति दिए पनि सडक विभागले काम गर्न नदिइरहेको बताए।
‘जमिनमाथि (ओभरहेड)भन्दा तारलाई भूमिगत गर्दा १० गुणा महंगो पर्छ। तार भूमिगत गर्न सडक खन्नासाथ भित्र के के भेटिन्छ ज्यादै गाह्रो छ। समन्वय गरेर केही समयका लागि अप्ठ्यारो भएपनि गरौंभन्दा सडकबाट अनुमति पाउँदैनौं, वर्खाभरी उहाँहरुले अनुमति दिनुभएन तर वर्खा सकिएपछि पनि अहिलेसम्म अनुमति दिनु भएको छैन,’ उनले भने,
‘यति ठूलो आयोजना हामीबीचको समन्वयको अभावले बेवारिसे हुँदैछ । यो दूर्भाग्यपूर्ण छ । मलाई पनि पीडा लाग्छ । वनमा गयो प्रसारण लाइन निर्माण गर्न दिंदैन, वनै राज्य । सडकमा गयो सडक नै राज्य ।अनि कहाँचाहिं काम गर्नु ? यो स्थिति आउनुमा हामी सबै जिम्मेवार छौं । जिम्मेवारी पूर्वक हामी सबैले समस्या समाधान गर्न काम गरौं ।’
प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढीकरण र स्वचालित बनाउन पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम सुरु गरिएको थियो ।
दोस्रो चरणमा काठमाडौं जिल्लाको बाँकी स्थानहरु, तेस्रो चरणमा ललितपुर तथा भक्तपुरको सहरी क्षेत्र र चौथौ चरणमा पोखरा तथा भरतपुर महानगरपालिका अन्तर्गतका क्षेत्रहको वितरण प्रणालीलाई भूमिगत, सुदृढीकरण र स्वचालित गर्ने काम सुरु गरिएको थियो।
यसअन्तर्गत ३३ तथा ११ हजार भोल्टेज र ४ सय भोल्टेजको भूमिगत लाइन निर्माण गर्नुकासाथै अप्टिकल फाइबर पनि बिछ्याइने छ। यसबाट विद्युत्, टेलिफोन, इन्टरनेट सेवा प्रदायकको गुजुल्टिएको तारले कुरुप बनेको सहरको कुरुपताको अन्त्य भई सौन्दर्यता थपिने छ।
कार्यकारी निर्देशक घिसिङले विकास हुन्छ भने आम सर्वसाधारणले यसलाई सहज रुपमा लिई केही समय अप्ठ्यारो बेहोर्नु पर्ने बताए।
‘अलिकति अप्ठ्यारो पर्यो भयो भने वडाले गाली गर्ने, नगरपालिकाले गाली गर्ने, कुनै ठाउँमा सडकले काम नै गर्न नदिने, सहमति नलिइ काम गरेमा हाम्रा कर्मचारीलाई थुनिदिन्छन्’, उनले भने, ‘धेरै पहल गर्दा पनि सडकबाट सहमति नपाएपछि सडकमा आफैं उभिएर काम गराउँछु भन्दा ठेकेदारहरु सहमति विना त हामी कार्म गर्न सक्दैनौं भन्ने अडान लिन्छन्, मैले चाहेर पनि काम गराउन सक्ने अवस्था छैन।’
हाल भइरहेको ओभरहेड वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित हुने र सहरलाई कुरुप बनाइरहेको तारको जालो हटी सौन्दर्यता कायम राख्न सकिने छ। भूमिगत कार्य गर्दा सडकमा न्यूनतम क्षति हुने प्रविधि प्रयोग गरिएको छ।
सडकमा सवारीसाधनको अवागम र पैदलयात्रीलाई असर नपर्ने गरी राती काम गर्ने व्यवस्था गरिएको छ। सडक खन्दा निक्लिएको धुलोबाट आमनागरिकलाई असर पर्न नदिन न्यूनिकरणका उचित व्यवस्था गरिएको छ। तार भूमिगत गर्दा क्षति पुगेको सडकको मर्मत १० भित्र गरिसक्ने व्यवस्था गरिएको छ ।
सडकले माग्यो ५० प्रतिशत धरौटी
सडक विभागले तार भूमिगत गर्दा खनिने सडक खण्डको अनुमानित लागतको ५० प्रतिशत धरौटी राख्नु पर्ने प्रस्ताव गरेको छ। यसअघि २० प्रतिशत धरौटी राखी काम हुँदै आएकोमा विभागले यसलाई बढाएर ५० प्रतिशत राख्नु पर्ने प्रस्ताव गरेको हो। प्राधिकरणले आफ्नो काम सकेर सडक त्यतिकै छाडेमा सडक मर्मतका लागि धरौटी रकमको व्यवस्था गरिएको हो । सडक मर्मत भएमा विभागले उक्त धरौटी रकम फिर्ता गर्छ ।
प्राधिकरणका आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक तारा प्रसाद प्रधानले यस वर्ष गरिने सम्झौताका लागि ५० प्रतिशत धरौटी राख्नु पर्ने प्रस्ताव सडक विभागबाट प्राप्त भएको बताए।
प्रकाशित: १५ मंसिर २०८०, शुक्रबार