Technology Khabar १५ कार्तिक २०८०, बुधबार
काठमाडौं ।
वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा प्राविधिक समस्या आएको छ।
वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि आवश्यक पर्ने अनलाइन प्रणालीमा केही समस्या भएको विभागका शाखा अधिकृत भीमबहादुर शाहीले जानकारी दिए।
उनका अनुसार फेमिसमा बायोमेट्रिक डेस्क एप्लिकेशनबाट हुने श्रमिकको ‘ओरेन्टेशन’ र ‘बायोमेट्रिक कनेक्सन’मा समस्या आएकाले पुनः सञ्चालनका लागि काम भइरहेको छ । यसले सूचना व्यवस्थापनमा समस्या भइरहेको उनको भनाइ थियो।
फेमिसमा देखिएको समस्याका कारण वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिको काम भने पूर्णरुपमा प्रभावित नभएको शाखा अधिकृत शाहीले बताए। उनले भने, “काम पूर्णरुपमा प्रभावित भएको छैन । केही समस्या भएको छ, प्राविधिक साथीहरुले केही दिनयतादेखि काम गरिरहेका छन्।”
यसैगरी विभागले एक सूचना जार गरी नयाँ र पुनः श्रम स्वीकृतिको लागि फेसिम प्रणालीमा बायोमेट्रिक खण्ड (सेक्सन)लाई छोड्ने र ओरेन्टेशन खण्डका लागि विभागमा दर्ता भएका अभिमुखीकरण संस्थाबाट जारी दुई दिने अभिमुखीकरण तालिमको प्रमाणपत्र फेमिस प्रणालीमा समावेश गर्ने व्यवस्था मिलाइएकाले सोही बमोजिम गर्न/गराउन अनुरोध गरेको छ।रासस
प्रकाशित: १५ कार्तिक २०८०, बुधबार