चार जिल्लामा टेलिकमको फाइबर लाइन विस्तार

  • Technology Khabar | २१ भाद्र २०८०, बिहीबार
चार जिल्लामा टेलिकमको फाइबर लाइन विस्तार

काठमाडौं ।

नेपाल टेलिकम धनकुटा शाखाले सेवा प्रवाह गरिरहेका पूर्वी पहाडका चार जिल्लामा अफ्टिकल फाइबरमार्फत् द्रुतगतिको इन्टरनेट विस्तार थालेको छ।

टेलिकमले धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरमा जिल्लासम्म एडिएसएसमार्फत क्षमता बढाएर ग्राहकलाई वायरलेस प्रविधिको ‘फोरजी’ सेवा तथा एफटिटिएच (अप्टिकल फाइबर प्रविधि)बाट द्रुत गतिको इन्टरनेट प्रवाह गर्न थालेको हो ।

यसअघि टेलकमले एडिएसएसबाट प्रवाह गरेको २० जिबिपिएसबाट एफटिटिएच इन्टरनेटअन्तर्गत कपर वायरबाट पाँच एमबिपिएससम्मको इन्टरनेट सेवा तथा जिएसएम (टुजी, थ्रीजी र फोरजी) सेवा विस्तार गर्दै आएको थियो ।

हाल उक्त प्रविधिलाई स्तरोन्नति र जमिनमुनि विछ्याइएको फाइबरमार्फत् जिल्लासम्म एक सय जिबिपिएसको मुख्य प्रसारण लाइन पुगेपछि टेलिकमले अफ्टिकल फाइबरमार्फत ग्राहकलाई आवश्यकताअनुसारको द्रुत गतिको इन्टरनेट उपलब्ध गराउन थालेको हो । सेवाको स्तरोन्नति र विस्तारसँगै अब चार जिल्लाका नागरिकले सीमित इन्टरनेट चलाउनुपर्ने बाध्यता अन्त्य हुनुका साथै आफूले चाहेको स्पिड (८,२५,८० एमबिपिएस) सम्मको सेवा लिन पाउने भएका छन्।

कार्यालयका प्रमुख तथा वरिष्ठ इञ्जिनीयर सुमन आचार्यकाअनुसार धनकुटा जिल्लाको हिले बजार, मूलघाट, छथर जोरपाटी गाउँपालिकाको सिन्धुवा बजार, साँगुरीगढी गाउँपालिकाको भेडेटार बजारमा फाइबरमार्फत् इन्टरनेट सेवा विस्तार गरिएको छ। धनकुटाकै पाख्रिबास नगरपालिका र चौबिसे गाउँपालिकामा पनि चालु आर्थिक वर्षमा सेवा सञ्चालनमा आउने उनले जानकारी दिए।

त्यस्तै सङ्खुवासभाको खाँदबारी र तुम्लिङटार, धर्मदेवी नगरपालिकाको मुढेशनिश्चरेमा पनि इन्टरनेट विस्तार गरिएको छ । चैनपुर नगरपालिकामा यसै वर्षदेखि काम सुरु गरिनेछ । अहिले सुनसरीको इटहरीबाट धनकुटाको हिले, तेह्रथुमको म्याङलुङ, पाँचथरको फिदिम र झापाको विर्तामोडबाट पुनःइटहरीसम्म एक सय जिबिपिएस इन्टरनेट जडान भइसकेको छ ।

यसबाट कुनै एक स्थानको फाइबरमा क्षति भए तापनि अर्को रुटबाट सेवा सञ्चालन हुने भएकाले चार जिल्लामा इन्टरनेट सेवा दिगो हुने कार्यालयका प्रमुख आचार्यले जानकारी दिए। सेवा विस्तारसँगै हाल धनकुटामा दुई हजार छ सय २१ वटा राउटरमार्फत् आठ हजार घरधुरीले अफ्टिकल फाइबरमार्फत्को इन्टरनेट उपभोग गरिरहेका छन्।

भोजपुरमा सात सय तीन राउटरमार्फत एक हजार पाँच सय घर धुरीले, सङ्खुवासभामा नौ सय ८० राउटरमार्फत् दुई हजार घर धुरीले र तेह्रथुममा छ सय ७० राउटरमार्फत् एक हजार पाँच सय घरधुरीले इन्टरनेट उपभोग गरिरहेको उहाँले उल्लेख गरे।रासस

प्रकाशित: २१ भाद्र २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...