
काठमाडौं ।
काठमाडौं थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल ६५ औं वर्षमा प्रवेश गरेको छ। अस्पतालले पछिल्लो समय ४५० शैय्या निःशुल्क गर्नुका साथै अनलाइनबाट टिकट काट्ने व्यवस्था गरेको छ।
अस्पतालद्वारा बहिरङ्ग सेवा तर्फ ‘अनलाइन टिकेटिङ’ सुरुआतसमेत गरिएको हो।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालको ६४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई ‘भर्चुअल’माध्यमबाट सम्बोधन गर्दै अस्पतालको सेवालाई प्रविधिमैत्री बनाउनु आवश्यक रहेकामा जोड दिए। “बिरामीको चापलाई मध्यनजर गर्दै थप एक एक औषधि पसल, अनलाइन टिकेटिङ र क्यूआरकोडमार्फत भुक्तानी र दश शय्या एनआइसीयूलाई बीस शय्या बनाउने तत्परताले थप गुणस्तर बढ्ने विश्वास छ”, उनले भने।
बार्षिकोत्सबका अबसरमा बुधबार आयोजित कार्यक्रममा अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले अस्पतालले स्वास्थ्यमा सहज पहुँचका लागि लागिपरेको बताए।
विसं २०१६ मा स्थापनामा ४० शय्याबाट यस अस्पतालले पछिल्लो समय चार सय ८९ शय्यामार्फत उपचार सेवा उपलब्ध गराइरहेको छ । आर्थिक वर्ष २०७९÷८० मा ३४ हजार एक सय ८५ जना महिला भर्ना भएकोमा प्रसूति तर्फ २६ हजार नौ सय ४७ तथा स्त्रीरोगतर्फ पाँच हजार ४६ जनाले उपचार सेवा लिएका छन्। त्यसैगरी नवजात शिशु सघन उपचार तर्फ दुई हजार एक सय ९२ र मातृ सघन उपचार तर्फ चार सय ८३ भर्ना भएका थिए भने बहिरङ्ग सेवा तर्फ एक लाख ८० हजार आठ सय ९० जनाले सेवा लिएको निर्देशक डा अधिकारीले जानकारी दिए।
प्रकाशित: २१ भाद्र २०८०, बिहीबार