
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले शुरुवातदेखिनै विवादमा पर्दै आएको ‘टेरामोस’ प्रणाली जडान गर्न जोडतोड गरिरहेको छ। उक्त टेलिकम्यूनिकेसन ट्राफिक अनुगमन र ठगी नियन्त्रण प्रणाली (टेरामोस) वा टेरामोक्स समेत भनिने प्रविधिले हालको दूरसञ्चार क्षेत्रमा हुने कर छली गुणस्तरमा वृद्धि गर्ने लगायतका कार्य गर्ने प्राधिकरणले दाबी गर्दै आएको छ।
प्राधिकरणले गएको साउन १६ गते टेरामोस प्रविधि सम्बन्धमा आफ्नो तर्फबाट स्वेत पत्र नै जारी गरेर यसले ठगीका गतिविधि रोक्ने, भ्वाइस तथा डाटा सेवाको गुणस्तर मापन तथा अनुगमन र भ्वाइस तथा डाटाको कुल भोल्यूम परीक्षण गर्ने बताएको थियो।
उक्त स्वेतपत्रमा प्रश्नोत्तरको पहिलो पृष्ठ र प्रश्नको उत्तरमा नै “दूरसञ्चार सेवामा हुने अपराधिक क्रियाकलापको निरीक्षण/न्युनीकरण गर्न तथा सेवाप्रदायकहरुको नेटवर्कबाट हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलको मात्रा मापन गरी सेवाको गुणस्तर जाँच गरी दूरसंचार ऐन, २०५३ को दफा १३) छ (अनुसार दूरसंचार सेवालाई विश्वासिलो गुणस्तरीय तथा भरपर्दो बनाई दूरसंचार प्रविधिमा हुने नयाँ प्रविधिको विकास अनुसारको प्रविधि उपयोगको सुनिश्चित गर्न नियमनका लागि Telecommunication Traffic Monitoring and Fraud Control System )TERAMOCS) स्थापना गर्न लागेको हो,” भनिएको छ।
यसैगरी दूरसञ्चार ऐन,२०५३ को दफा १७ अनुसार नियमनकारी निकायले विवरण लिने अनुगमन नियमन गर्न पाउने अधिकार प्रयोग गरी उपरोक्त प्रणाली जडान गरी दूरसंचार कम्पनीहरुको घट्दो राजस्व को कारण पत्ता लगाई सेवाको गुणस्तर वृद्धि तथा भीओआईपी (VOIP) जस्ता अपराधिक क्रियाकलापहरु रोक्न/पहिचान गर्ने कार्यमा यस प्रणालीले सहयोग गर्ने जिकिर गरिएको छ।
यति मात्र नभई टेरामोस कस्तो प्रविधि हो भन्ने प्रश्नको उत्तरमा यसले गुणस्तर अभिवृद्धि गर्ने परियोजनाको उद्देश्य रहेको उल्लेख छ।
जसमा भनिएको छ, “TERAMOCS प्रणाली पुर्ण विकसित दूरसंचार क्षेत्रमा हुने Fraudulent Activities, Voice तथा Data Services को गुणस्तर मापन तथा अनुगमन र voice तथा Data को Total Volume परिक्षण गर्ने प्रविधि हो। यस परियोजनाको प्रमुख उदेश्य voice तथा Data सेवाको (QOE & QOS) गुणस्तर वृद्धि गरी ग्राहकलाई अधिकतम स्तरिय सेवा प्रदान गरी प्रति प्रयोगकर्ता औसत राजस्व (RPUE)लाई सुधार गरेर टेलिकम राजस्व बढाउन मद्दत गर्नु हो।”
सम्बन्धित समाचार-
दूरसञ्चार क्षेत्रमा हुने अपराध न्युनिकरण गर्न टेरामोस प्रविधि प्रभावकारी हुने प्राधिकरणको दाबी
यसको अर्थ यो परियोजना जडान गर्दा ग्राहकहरुका लागि गुणस्तर मापन समेत गर्दछ। जसले अहिलेको दूरसञ्चार सेवाको गुणस्तरलाई अभिवृद्धि गर्ने दाबी गरिएको छ।
यस्तै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सरकारी समाचार एजेन्सी राससमार्फत दिएको एक अन्तरवार्तामा स्पष्टरुपमा यो प्रविधि गुणस्तर सुधार गर्न ल्याएको दाबी नै गरेका छन्। उनले सेवाको पहुँच, गुणस्तर र शुल्क लिइएको छ वा छैन भन्ने हेर्ने र सेवा प्रदायकलाई उपभोक्ता र राज्यप्रति थप जिम्मेवार बनाउने उद्देश्य रहेको बताएका छन्।
“प्राधिकरणले टेलिकम कम्पनीहरूले दिने सेवा प्रवाह गुणस्तरको छ वा छैन? उपभोक्तासँग नियमानुसार शुल्क लिएको छ वा छैन लगायतका विषयमा अनुगमन गर्ने उद्देश्यले उक्त प्रविधि ल्याइएको हो”, अध्यक्ष खनालले भनेका छन्, “तर सेवाप्रदायकले भने विभिन्न बाहनामा आनाकानी गरेको अवस्था छ।”
यसका साथै प्राधिकरणका अनुसार टेरामोक्स प्रविधिले गुणस्तर जाँच गर्नुका साथै ग्राहकलाई क्षतिपूर्ति दिलाउनका लागि सिफारिससमेत गर्ने समेत सो समाचारमा उल्लेख छ। उनले यो प्रविधि कार्यान्वयनमा आए सेवा पुगेका सबै क्षेत्रमा गुणस्तरीयता सुनिश्चित हुनेमा विश्वास व्यक्त गरेका छन्।
सम्बन्धित समाचार-
टेरामोस कल ट्यापिङ गर्न होइन, सेवाको गुणस्तर सुधार गर्न हो : दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनाल
दूरसञ्चार प्राधिकरण र प्राधिकरणका अध्यक्ष खनालले टेरामोसले गुणस्तर सुधार गर्ने र ग्राहकहरुले लाभ पाउने भन्दै दाबी गरिरहँदा भने प्राधिकरणकले सोही किसिमको अर्को परीक्षण प्रणाली खरिद गर्ने योजना गरिरहेको खुलासा भएको छ।
दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले यो प्रविधि वा प्रणालीले गुणस्तर सुधार गर्ने दाबी गरिरहँदा अर्को तर्फ त्यस्तै गुणस्तर सुधार गर्ने भनेर नयाँ प्रणाली किन्ने भएको छ।
प्राधिकरणको चालु आर्थिक वर्ष २०८०/८१ को प्रस्तावित बजेट कार्यक्रममा छुट्टै कार्यक्रम राखेर गुणस्तर मापन गर्ने उपकरण तथा प्रणाली जडान गर्ने उल्लेख गरेको छ।
यसले प्राधिकरणले टेरामोसको नाममा गर्न खोजेको चलखेल र अर्को प्रणालीको खरिदमा हुन लागेको बजेट र प्रणालीको दोहोरोपनालाई देखाउने मन्त्रालय स्रोतको भनाई छ।
स्रोतमार्फत केहि दिनअघि टेक्नोलोजीखबरले पाएको बजेट कार्यक्रमकाअनुसार चालु आर्थिक वर्षभित्र दूरसञ्चार सेवाको गुणस्तर मापनका लागि सेवा, उपकरण तथा प्रणाली खरिद गर्ने तथा क्यूओएस मनिटरिङ्ग सिस्टम (भ्वाइस प्लस डाटा) जडान गर्ने उल्लेख छ।
जसलाई सेवा गुणस्तर स्तरिकरण शाखाले हेर्ने जिम्मा दिईएको छ भने यो गत आर्थिक वर्षकै निरन्तर कार्य भएको उल्लेख छ। बजेटमा अत्याधुनिक प्रविधिको उपयोग गरी दूरसञ्चार सेवाको गुणस्तर मापन हुने उक्त कार्यक्रमको अपेक्षित परिणाम वा नतिजामा दाबी समेत गरिएको छ।
प्राधिकरणले यसको लागि यसै वर्ष बोलपत्र आव्हान गरेर क्यूओएस मनिटरिङ्ग सिस्टम (भ्वाइस र डाटा) जडान कार्य सम्पन्न हुने योजना लिएको छ।
प्राधिकरणकाअनुसार उक्त नयाँ गुणस्तर अनुगमन गर्ने प्रणाली खरिद गर्नका लागि चालु आर्थिक वर्षमा करिब १२ करोड रुपैयाँ खर्च हुनेछ।
एकातिर टेरामोसले नै गुणस्तर सुधार गर्ने र ग्राहक तथा सरकार दुबैलाई फाइदा हुने दाबी गरिरहँदा प्राधिकरणले भने त्यस्तै प्रकृतिको गुणस्तर परीक्षण गर्न नयाँ १२ करोडको प्रणाली किन्ने तयारी गरेको हो।
यसले सरकारी रकमको चरम दूरुपयोग भईरहेको प्राधिकरण स्रोतको आरोप छ।
“यो सरकारी रकमको चरम दूरुपयोग हो। टेरामोसले गुणस्तर सुधार गर्छ भन्दै मिडिया बयानबाजी गर्ने अनि अर्कोतर्फ त्यस्तै सिस्टम किन्नका लागि बजेट उडाउनु उचित होईन्,” प्राधिकरण स्रोतले भनेको छ।
“यस्ता बजेट दोहोरो भएका र गुणस्तरहिन सामान किनिएका कयौं उदाहरण प्राधिकरण भित्र छ,” स्रोतले टेक्नोलोजीखबरलाई भन्यो, “यसमा पनि करोडौंको खेल हुन लागेको देखिन्छ।”
स्रोतकाअनुसार एउटै किसिमका र उस्तै प्रकृतिका काम गर्ने विषयमा फरक-फरक बजेट र योजना राखिएकोमा आशंकासमेत व्यक्त भएको छ।
“एउटै किसिमका र उस्तै प्रकृतिका काम गर्ने प्रणाली किन खरिद गरिँदैछ भन्ने आशंका हुनु स्वभाविक हो,” स्रोतले भनेको छ।
यति मात्र नभई हालसालै प्राधिकरणले गुणस्तर मापन गर्नका लागि भनेर नै क्याप्टेन रामेश्वर थापाको कम्पनीबाट मोबाइल सेवाको गुणस्तर मापन गर्ने उपकरण खरिद गर्ने सार्वजनिक गरिसकेको छ
प्राधिकरणले आपूर्ति, स्थापना र ड्राइभ टेस्टमा आधारित मोबाइल नेटवर्क बेन्चमार्किङ प्रणाली खरिदका लागि एडभान्टेज इन्टरनेस्नल प्रालिलाई ७ करोड ४ लाख ९४ हजार ५५३ रुपैयाँको ठेक्का दिएको छ।
सम्बन्धित समाचार-
दूरसञ्चार प्राधिकरणको ७ करोडको ठेक्का क्याप्टेन रामेश्वर थापाको कम्पनीलाई
तर प्राधिकरणले मोबाइल सेवाको गुणस्तरको मापन गर्ने बेन्चमार्किङ्ग सलुसन प्रणाली खरिद गर्ने भनेर अर्को छुट्टै ८ करोड रुपैयाँ बजेट चालु आवमा छुट्याएको देखिन्छ। उक्त खरिद कार्य समेत यसै अर्धवार्षिकमा सम्पन्न गर्ने योजना रहेको देखिन्छ।
सो प्रणालीले मोबाईल सेवा प्रदायकहरुको गुणस्तरको तुलनात्मक अध्ययन गर्न मद्दत पुग्ने दाबी समेत बजेट कार्यक्रममा गरिएको छ।
पछिल्लो समय टेरामोसका बारेमा प्राविधिक जानकारीसहित ‘स्पेशल’ पत्रकारहरुका लागि तालिम गर्ने भन्दै क्यान महासंघलाई उचालिरहेको प्राधिकरणले सो बारेमा भने औपचारिकरुपमा केहि बताएको छैन्।
सम्बन्धित समाचार-
प्रकाशित: ११ भाद्र २०८०, सोमबार