Technology Khabar १८ असार २०८०, सोमबार
काठमाडौं ।
विपद्को पूर्वतयारी तथा जोखिम व्यवस्थापनका लागि महत्त्वपूर्ण मानिने सूचना प्रणालीलाई निश्चित मापदण्डमा आधारित बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । अहिलेसम्म जल तथा मौसम विज्ञान विभागले मात्रै विपद्जन्य सूचनाहरू प्रदान गर्दै आइरहेकाले त्यसलाई एउटा मापदण्डमा ढालेर पूर्वतयारी तथा जोखिम व्यवस्थापनको काम गर्न सके प्रभावकारी हुने सहभागीहरूको जोड थियो।
बाढीजन्य जोखिम आकलनसम्बन्धी नेपालमा हालसम्म भए–गरेका कार्यहरूका बारेमा जानकारी, अध्ययन तथा नतिजाका बारेमा विचार–विमर्श, यससम्बन्धी अध्ययनको भावी आवश्यकता, अपुग र दिशा निर्देशका बारेमा आज विज्ञहरूको उपस्थितिमा सिंहदरबारमा भएको तेस्रो विपद् संवादमा सहभागीहरूले यस्तो बताएका हुन।
कार्यक्रममा जलवायु विज्ञ डा दिलीप गौतम, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशी, त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ संस्थानका प्राडा विष्णु पाण्डे, नेपाल इन्जिनियरिङ कलेजका प्राडा हरिकृष्ण श्रेष्ठले विभिन्न विषयमा प्रस्तुति दिएका थिए। सहभागीहरूले बाढीजन्य जोखिम आकलन सम्बन्धमा सङ्कटासन्नता डाटाको कमी रहेको जानकारी दिँदै डाटा सङ्कलन क्रममा खासगरी ‘आउटपुट’ ढाँचासम्बन्धी प्राधिकरणले मापदण्ड बनाउँदा यससम्बन्धी काम गर्ने सबै निकायलाई सहज हुने धारणा राखे।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले गत महिना उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यतामा बसेको कार्यकारी समितिको बैठकले बहुप्रकोपीय जोखिम आकलन विधि तथा कार्ययोजना गठन गर्न एक कार्यदल गठन गरेको जानकारी दिँदै छलफलमा प्राप्त सुझावहरूले कार्यदललाई अध्ययन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
प्राधिकरणले विपद् जोखिमका विषयवस्तुहरूमाथि सरोकारवालाबीच सार्थक छलफल गर्न ‘विपद् संवाद’ आयोजना गर्दै आएको छ। इन्जिनियरिङका प्राध्यापक डा हरिकृष्ण श्रेष्ठले बाढीको जोखिम आकलनका लागि धेरै निकायले काम गरिरहे पनि समन्वय हुन नसकेको बताए। उनले यसका लागि आवश्यक मापदण्ड तयार गर्नसके त्यसले व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
प्राडा विष्णु पाण्डेले जोखिम आकलनका लागि बनाइएको आधारहरूको परिमार्जनको खाँचो औँल्याए। सो क्रममा प्राधिकरणका प्रवक्ता ध्रुव खड्काले मनसुनपछिको विपद्जन्य घटनाका बारेमा जानकारी गराएका थिए। उनका अनुसार गत वर्षभन्दा यसपटक मनसुनपछिको आजको दिनसम्ममा बढी क्षति भएको जानकारी गराएका थिए।
प्रकाशित: १८ असार २०८०, सोमबार