काठमाडौँ महानगरपालिकाले अनलाइन प्रणालीबाट कर तिर्न प्रोत्साहन गर्ने

  • Technology Khabar | १२ जेष्ठ २०८०, शुक्रबार
काठमाडौँ महानगरपालिकाले अनलाइन प्रणालीबाट कर तिर्न प्रोत्साहन गर्ने

काठमाडौं ।

काठमाडौँ महानगरपालिकाको राजस्व विभागले अनलाइन राजस्व दाखिला प्रणालीबाट कर दाखिला गर्न प्रोत्साहन गर्न वडा स्तरीय राजस्व अनुगमनका लागि वडा कार्यालयहरुलाई पत्र पठाएको छ।

बुधबार पठाइएको पत्रमा वडा क्षेत्रभित्र रहेका सम्पत्तिकर र बहाल कर बुझाए नबुझाएको, व्यवसाय दर्ता र नविकरण भए/नभएको हेर्नका लागि अनुगमन गर्न भनिएको छ। यसका साथै अनुगमन क्रममा अनलाइन राजस्व दाखिला प्रणालीबाट कर दाखिला गर्न प्रोत्साहन गर्न, प्रणाली सञ्चालनका विषयमा जानकारी गराउन अनुरोध गरिएको छ।

जेठ १ गते बसेको कार्यपालिकाको बैठकले राजस्व अनुगमन गर्ने निर्णय गरेको थियो। अनुगमनमा जनप्रतिनिधि र कर्मचारी रहने महानगरपालिकाले जनाएको छ।

अनुगमन टोली तोकिएको दिनमा सम्बन्धित करदाताहरुको स्थलमा पुगेर सम्पत्ति कर, बहाल कर र व्यवसाय दर्ता नविकरणको फारम भरिनेछ। यस क्रममा आवश्यक कागजातहरुको प्रतिलिपि समेत लिइनेछ। यसरी भरिएका विवरण फारमहरु हरेक दिन वडा कार्यालयमा बुझाइनेछ।

वडा कार्यालयमा प्राप्त भएका फारामहरु कम्प्युटरमा इन्ट्री गराएर प्रमाणपत्र तथा कर चुक्ता जारी गरिनेछ। यसवापत तिर्नुपर्ने कर तथा राजस्व सम्बन्धित करदाताहरुलाई अनलाइन प्रणालीबाट तिर्न लगाइनेछ। यसपछि प्रमाणपत्र स्थलगत रुपमा उपलब्ध गराइने बताईएको छ।

अनलाइन प्रणालीबाट राजस्व भुक्तानी नगर्ने करदाताहरुलाई कर बुझाउन र प्रमाणपत्र तथा कर चुक्ता बुझ्न वडा कार्यालयमा नै बोलाइने महानगरपालिकाले जनाएको छ।

प्रकाशित: १२ जेष्ठ २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार