मेटाले बाल प्रयोगकर्ताहरूलाई जोखिममा पारेको अमेरिकी नियामकको भनाई

  • Technology Khabar | २२ बैशाख २०८०, शुक्रबार
मेटाले बाल प्रयोगकर्ताहरूलाई जोखिममा पारेको अमेरिकी नियामकको भनाई

काठमाडौं ।

अमेरिकी शीर्ष डाटा गोपनीयता नियामकले फेसबुक र इन्स्टाग्रामको स्वामित्वमा रहेको फर्म मेटामाथि उचित अभिभावकीय नियन्त्रणहरू राख्न नसकेको आरोप लगाएको छ।

फेडरल ट्रेड कमिसन (एफटीसी) ले पनि मेटालाई बालबालिकाको डाटाबाट पैसा कमाउन प्रतिबन्ध लगाउनु पर्ने बताएको बीबीसीले उल्लेख गरेको छ।

‘कम्पनीको लापरवाहीले युवा प्रयोगकर्ताहरूलाई जोखिममा पारेको छ, र फेसबुकले आफ्नो असफलताको जवाफ दिनुपर्छ,’ एफटीसीले भनेको छ।

मेटाले नियामकको कदमलाई ‘राजनीतिक स्टन्ट’ भन्दै आफ्नो अधिकारलाई अतिक्रमण गरेको आरोप लगाएको छ।

एफटीसीका अनुसार एक स्वतन्त्र अनुसन्धानले ‘फेसबुकको गोपनीयता कार्यक्रममा धेरै कमी र कमजोरीहरू’ फेला पारेको छ जसले ‘जनताको लागि पर्याप्त जोखिम’ खडा गरेको छ।

१३ वर्ष मुनिका प्रयोगकर्ताहरूलाई अझै पनि आमाबाबुद्वारा जाँच नगरिएका कन्ट्याक्टहरुसँग च्याटमा संलग्न हुन अनुमति दिइएको पाइएको छ।

मेटाले तेस्रो–पक्ष एपहरूलाई निजी जानकारीमा पहुँच दिन जारी राखेको छ। कम्पनीले यदि प्रयोगकर्ताहरूले अघिल्लो ९० दिनहरूमा एपहरू प्रयोग गर्न असफल भएमा पहुँच कटौती गर्ने वाचा गरे पनि यस्तो काम बन्द नगरेको नियामकको भनाई छ।

मेटाका प्रवक्ता एन्डी स्टोनले यो कदम ‘राजनीतिक स्टन्ट’ भएको बताए।

उनले टिकटक जस्ता चिनियाँ कम्पनीहरूलाई अमेरिकी भूमिमा कुनै बाधा बिना काम गर्न अनुमति दिँदा मेटालाई एक्लो पारिँदै आएको दाबी गरे।

उनले एफटीसीको अध्यक्ष लिना खानलाई अमेरिकी व्यवसायको विरोध गरेको आरोप पनि लगाए।

लाखौं फेसबुक प्रयोगकर्ताहरूको व्यक्तिगत डाटा क्याम्ब्रिज एनालिटिकाद्वारा लिइएपछि एफटीसीको केस सन् २०१८ मा सुरु भएको थियो।

नियामकले बिग टेकद्वारा संचालित केही शक्तिहरूमा लगाम लगाउन खोजेको छ। यद्यपि, मेटा जस्ता कम्पनीहरूले उनीहरूसँग अनुचित व्यवहार भइरहेको विश्वास गर्छन्।

प्रकाशित: २२ बैशाख २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार