Technology Khabar १९ बैशाख २०८०, मंगलवार
काठमाडौं ।
सशस्त्र प्रहरीले नेपालसँग जोडिएका अन्तर्राष्ट्रिय सिमानामा सीसीटीभी क्यामरा जडान गरी निगरानी बढाउने महत्वाकाङ्क्षी योजनासहित भाबी कार्ययोजना सार्वजनिक गरेको छ।
२०५८ सालमा स्थापना भएको सशस्त्र प्रहरी बललाई सीमा सुरक्षा, आतङ्कवादी क्रियाकलाप नियन्त्रण, ऐतिहासिक तथा महत्वपूर्ण संरचना र राजस्व कार्यालय सुरक्षालगायत विभिन्न १२ वटा जिम्मेवारी तोकिएको छ।
सशस्त्र प्रहरी मुख्यालय हलचोकमा सोमबार पत्रकार सम्मेलन गरी सशस्त्रले सीमा सुरक्षा र विपत् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने घोषणा गरेको हो।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी योजना सार्वजनिक गर्दै भने, “सीमामा हुने अवाञ्छित गतिविधि रोक्न कडा निगरानी गरिनेछ। त्यसका लागि ठाउँठाउँमा सीसीटीभी जडान गर्नुका साथै गस्ती बढाइनेछ।”
संरचनागत सुधारका कार्यअन्तर्गत सशस्त्रले सीमा सुरक्षा विभागको स्थापना गरी सीमाक्षेत्रमा हुने गतिविधि केन्द्रबाटै अनुगमन गर्ने व्यवस्था गरेको छ।
यस्तै संस्थागत सुधारअन्तर्गत सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन खटिने सशस्त्र प्रहरीलाई नापी विभागबाट स्ट्रिप नक्सासम्बन्धी विशेष तालिम दिने, सीमा विवाद समाधान गर्न सशस्त्र प्रहरी प्रमुख र भारतीय सीमा सुरक्षा बल एसएसबीका प्रमुखबीचको समन्वयात्मक वार्षिक बैठक नियमित गर्ने जनाइएको छ। गोरखापत्रबाट
प्रकाशित: १९ बैशाख २०८०, मंगलवार