
काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नवप्रवर्तनको क्षेत्रलाई उच्च प्राथमिकता दिएर सरकारले काम गर्ने प्रतिबद्धता जनाएका छन्।
मंगलबार बिहान राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको टोलीलाई बालुवाटार स्वागत गर्दै प्रधानमन्त्रीले विज्ञान र प्रविधिलाई उच्च प्राथमिकता दिएर मात्र विकास र समृद्धिलाई गुणात्मकता दिन सम्भव रहेकाले नवप्रवर्तनको क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिने बताए।
भेटमा अध्यक्ष डा. पुनले ‘यात्री’लगायत नेपालमै उत्पादित सवारीसाधनलाई सञ्चालन अनुमति प्रदान गर्न र नवप्रवर्तनको क्षेत्रमा लगानी वृद्धि गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
डा. पुनले नेपालमा उत्पादित सवारीसाधनलाई दर्ता गर्ने र प्रवर्धन गर्ने प्रयोजनका निम्ति सरकारले कानुन ल्याउने तयारी गरेकोमा धन्यवाद दिँदै कानुन निर्माणको काम छिट्टै सम्पन्न गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।
प्रधानमन्त्रीले डा. पुनले उठाएका विषयहरू राष्ट्रिय हित र समृद्धिको पक्षमा रहेको भन्दै नवप्रवर्तनलाई प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको बताए। प्रधानमन्त्रीले विज्ञान/प्रविधिको विकासविना देशको विकास सम्भव नहुनेमा आफू स्पष्ट रहेको भन्दै नेपालमा उत्पादित सवारीसाधनलाई दर्ता गर्ने र राष्ट्रिय उत्पादनलाई प्रबर्द्धन गर्ने कानुनको मस्यौदा तयार पार्ने प्रक्रिया अघि बढिसकेको बताए।
पुनले यसअघि नै नवप्रवर्तनको लागि कानून आवश्यक भएको भन्दै दबाब दिन आन्दोलनको घोषणा गरेका छन्।
प्रकाशित: १२ बैशाख २०८०, मंगलवार