टेलिमेडिसिनमार्फत सेवा लिने बढ्दै

  • Technology Khabar | २८ चैत्र २०७९, मंगलवार

काठमाडौं ।

सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई लक्षित गरेर सुरु गरेको निःशुल्क टेलिमेडिसिन सेवामा १३७ जनाले सेवा लिएका छन्।

वैदेशिक रोजगार बोर्डको सचिवालयको निगरानीमा बीर अस्पतालमा सञ्चालन गरिएको चिकित्सक परामर्श युनिटले विभिन्न १४ देशमा कार्यरत १३७ नेपाली श्रमिकलाई स्वास्थ्य परामर्श सेवा प्रदान गरेको हो। बोर्डले चैत १५ देखि वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्या सल्ट्याउने उद्देश्यले देशको केन्द्रीय अस्पताल बोरमार्फत निःशुल्क टेलिमेडिसिन सेवा दिँदै आएको छ।

बोर्डका ‘अनुसार सो अवधिमा टेलिमेडिसिन सेवा लिएकामध्ये सबैभन्दा धेरै साउदी अरब र मलेसियामा कार्यरत श्रमिक छन्। साउदी अरबमा कार्यरत ३५ जना र मलेसियामा कार्यरत ३० जनाले स्वास्थ्य र स्वास्थ्य विशेषज्ञ सेवा लिएको बीर अस्पतालको स्वास्थ्य परामर्श युनिटले जनाएको छ।

यस्तै संयुक्त अरब इमिरेट्स (यूएई), कतार, रोमानिया, दक्षिण कोरिया, कुवेत, ओमानलगायत १४ देशमा कार्यरत श्रमिकले टेलिमेडिसिन सेवामार्फत परामर्श लिँदै आएका छन्। बोर्डले बीर अस्पतालमा सुरु गरेको स्वास्थ्य युनिटका मेडिकल अधिकृत डा. सञ्जय धरेलले विदेशबाट टेलिमेडिसिन सेवा लिनेमध्ये सबैभन्दा धेरै कब्जियत, पेट दुख्ने र खान मन नहुने, छालाको समस्या रहेको जानकारी दिए। उनका अनुसार योबाहेक ढाड दुख्ने, हातखुट्टा सुनिने, मुटुको धड्कन बढ्ने, मनोरोगसम्बन्धी समस्या छन्। टेलिमेडिसिनमार्फत सेवा लिने श्रमिकले सुनाएका लक्षणका आधारमा सम्बन्धित बिशेषन चिकित्सकले हेरेर चिकित्सकको प्रेस्क्रिप्सन अनलाइनमार्फत उपलब्ध गराइँदै आएको डा. धरेलले जानकारी दिए।

डा. घरेलले वैदेशिक रोजगारीमा रहेका श्रमिकले भनेका समस्या टेलिमेडिसिनका मेडिकल अधिकृतले सुनेर बिरामी श्रमिकलाई विशेष सेवा आवश्यक परेमा हरेक आइतबार र शुक्रबार उपलब्ध गराउँदै आएको जानकारी दिए। आइतबार र शुक्रबार विदेशी मुलुकमा सार्वजनिक बिदा पर्ने हुँदा तो दिनमा श्रमिकसँग समय हुने भएकाले सेवा उपलब्ध गराउन लागिएको बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले बताए। सामान्य स्वास्थ्य समस्यामा उपचार गराउने व्यबस्था नहुँदा बैदेशिक रोजगारीमा गएका कैयौं श्रमिकको उतै मृत्यु हुने गरेकाले केही भए पनि राहत होस् भनेर यो सेवा सुरु गरेको जानकारी उनले दिए।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई लक्ष्य गरी टेलिमेडिसिन सेवा सञ्चालन गर्न टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि-२०७९ स्वीकृत गरेसँगै सेवा दिँदै आएको छ। बोर्डका अनुसार यसबाट वैदेशिक रोजगारीमा रहेका सबैले सेवा लिन सक्ने व्यवस्था छ।

विदेशमा श्रमिकले भोग्दै आएका स्वास्थ्य समस्या समाधान गर्न सहयोग पु-याउन पहिलो पटक सञ्चालनमा ल्याइएको उक्त सेवा प्रभावकारी बनाउन सजिलो नभएको स्वयं सरकारका अधिकारी नै स्वीकार गर्छन् । बोर्डका कार्यकारी निर्देशक उप्रेतीले नेपालमा रहेका चिकित्सकले विदेशमा रहेका श्रमिकले भनेका कुरालाई आधार मानेर दिने स्वास्थ्य सेवा प्रत्यक्ष भेटेर बिरामी परीक्षण गरेजस्तो प्रभावकारी हुन नसक्ने बताए। उनले बिदेशमा कार्यरत श्रमिक सामान्य स्वास्थ्य समस्याका कारण जटिल अवस्थाको बिरामी हुन नपरोस् भनी टेलिमेडिसिनमार्फत श्रमिकको आवश्यकता अनुसार स्वास्थ्यसम्बन्धी सल्लाह, सुझाब र परामर्श उपलब्ध गराउन थालिएको जानकारी दिए।

बोर्डका अनुसार सार्वजनिक बिटाको दिनबाहेक नेपाली कार्यालय समयमा सेवा प्रबाह गरिँदै आएको छ। विदेशमा रहेका नेपाली श्रमिकले टेलिमेडिसिन सेवा लिनु परे २८५१३४५७०१ २२८५१३४५७०२ नम्बरमा भाइबर, ह्वाट्सएप, इमोलगायतका माध्यममार्फत सम्पर्क गरेर सेवा लिन सकिने व्यवस्था गरिएको छ। बोर्डका अनुसार आर्थिक बर्ष २०६५/६६ देखि गत पुससम्म ११ हजार ५६२ जनाको बैदेशिक रोजगारका क्रममा मृत्यु भएको छ। गोरखापत्रबाट

प्रकाशित: २८ चैत्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार