
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चार र सूचना प्रविधि दुबै क्षेत्रमा कानुन परिमार्जनलाई मुख्य जोड दिने नीति लिएको बताएकी छन्।
प्रेस सेन्टर नेपालका केन्द्रीय पदाधिकारी तथा राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुसँगको भेटघाटमा सञ्चार मन्त्री शर्माले सञ्चार र सूचना प्रविधि दुबै क्षेत्रमा सुधार ल्याउन पुराना कानुन बाधक भएकाले कानुन परिवर्तनमा जोड दिएको बताईन्।
ठूलो राजनीतिक परिवर्तनपछि संविधान निर्माण भएर मुलुक धेरै अगाडि बढे पनि यी सूचना सञ्चारको क्षेत्रमा पञ्चायतकालीन कानुन नै कायम रहेकाले यी क्षेत्रलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र अनुकूल बनाउन समस्या देखिएकाले कानुन परिमार्जनमा जोड दिइएको उनले बताईन्।
सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न आम सञ्चारलगायतका ऐन निर्माणको तयारीमा रहेको जानकारी दिँदै मन्त्री शर्माले आम सञ्चारलाई थप परिस्कृत र व्यवस्थित गर्नु आवश्यक रहेको धारणा औंल्याईन्।
सञ्चारसँगै सूचना प्रविधि क्षेत्रको व्यवस्थापन ठूलो सवाल भएको र यो जनताको प्रत्यक्ष जीवनसँग जोडिने भएकाले यसमा आवश्यक नीति र संचना निर्माण गर्न आफू जुटेको मन्त्री शर्माले जानकारी दिईन्। भर्खरै सरकारी वेबसाइटहरुको एकीकृत सञ्चालन र अनुगमन प्रणाली सुरु गरिएको उल्लेख गर्दै उनले साइबर सुरक्षासँग सम्बन्धित नीतिगत, कानुनी र संरचनागत विकासका लागि उच्चस्तरीय आयोग गठन गरिएको पनि जानकारी दिईन्।
प्रकाशित: १९ फाल्गुन २०७९, शुक्रबार