
काठमाडौं ।
केही महिना अघि, कतारमा आयोजना भएको ३२ राष्ट्र सहभागि २०२२ विश्वकप फुटबलमा अर्जेन्टिना विजयी भएको सबैलाई थाहा नै छ। पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले फ्रान्स विरुद्ध जित हासिल गर्दै वर्ल्डकप हात पारेको थियो।
कडा संघर्ष पश्चात टोलीका कप्तान लियोनल मेस्सीले आफ्नो टोलीका साथीहरूलाई ‘गोल्डेन कप’ जिते बापतमा केही सुनौलो चीज उपहार दिने निर्णय गरेका थिए। त्यसैकारण टोलीका कप्तान मेस्सीले आफ्नो टोलीका प्रत्येक साथीहरूलाई उपहार स्वरुप ३५ ओटा गोल्डन आईफोन १४ प्रो म्याक्स दिएका छन्।
टोलीका कप्तान मेस्सीले आईडिजाइन गोल्डका सीईओ बेन लियोन्ससँग सानो कुराकानीको लागि सम्पर्क गरेका थिए। मेस्सी उत्तम उपहार चयन गर्न अलिकति अन्योलमा भएकाले आफूलाई निर्णय गर्नको लागि मद्दत गर्न भनेको लियोन्सले बताएको उल्लेख छ। अन्ततः तिनीहरू दुवै कस्टमाइज्ड गोल्डेन आईफोन १४ प्रो म्याक्समा सहमत भएको गीगचाइनाले बताएको छ।
यो उपहार केवल टोलीका साथीहरूको लागि मात्र नभएर सम्पूर्ण कोचिङ्ग स्टाफहरुलाई पनि दिईएको बताइएको छ। आन्तरिक रूपमा यो एक सामान्य आईफोन १४ प्रो म्याक्स भए तापनि मेस्सीको उपहार बाह्यरूपमा एक पूर्ण भिन्न डिभाइस भएको उल्लेख गरिएको छ। डिभाइसको सबै बाहिरी भागमा २४ क्यारेट सुनको कभर लगाइएको बताइएको छ। साथै पछाडिको भागमा पनि केही कस्टमाइजेसन गरिएको बताइएको छ। प्रत्येक फोनमा टोलीको हरेक फुटबल खेलाडीहरूको नाम र जर्सी नम्बर फोनको पछाडिको भागमा सुन्दर रूपमा कुँदिएको छ। साथै बीचमा रहेको एप्पलको लोगोलाई पनि एएफए (अर्जेन्टिना फुटबल एसोसियसन) को लोगोले प्रतिस्थापन गरिएको छ। त्यसैगरी त्यसको तल “विश्व कप च्याम्पियन्स २०२२” भनी कुँदिएको उल्लेख गरिएको छ।
मेस्सी गोट अर्थात ‘ग्रेटेस्ट अफ अल टाइम’ मात्र नभएर उनी आईडिजाइन गोल्डका सबैभन्दा बफादार ग्राहकहरू मध्ये एक रहेको लियोन्सले ‘द सन’ सँगको कुराकानीमा भनेका छन्। उनले भने, ‘विश्वकप फाइनल भएको केही महिनापछि उनी हामीसँग सम्पर्कमा आएका थिए। अर्जेन्टिना फुटबल टोलीका कप्तान मेस्सीले सबै खेलाडी र स्टाफका लागि अद्भुत जितको खुशियाली मनाउनको लागि भनेर विशेष उपहार दिन चाहेको तर सामान्य घडीहरू भने नभएको लियोन्सले खुलाए। त्यसोभए, सुनको आईफोनहरूमा तिनीहरूको नाम लेखेर दिउँ न त भनेर मैले सुझाव दिएँ र उनलाई यो विचार मन पर्यो।’
प्रकाशित: १९ फाल्गुन २०७९, शुक्रबार