पर्यटकीय पार्कमा खुला तथा फ्री इन्टरनेट

  • Technology Khabar | १९ फाल्गुन २०७९, शुक्रबार
पर्यटकीय पार्कमा खुला तथा फ्री इन्टरनेट

काठमाडौं ।

संखुवासभा जिल्लाको चिचिला गाउँपालिकाले पर्यटकीय पार्कमा खुला तथा निःशुल्क इन्टरनेटको व्यवस्था गरेको छ। पालिकाको कप्ताने पोखरी पार्क र मत्स्यपोखरी पार्कमा फ्री वाइफाई जडान गरेको हो।

पार्कमा घुम्न आउने पर्यटकको सुविधाका लागि खुला इन्टरनेटको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष पासाङनुर्वु शेर्पाको भनाइ छ। पार्कमा घुम्न आएका पर्यटक तत्काल फोटो तथा भिडियो आफ्ना सञ्जालमा पोस्ट गर्न सक्ने भएकोले निःशुल्क वाइफाई जडान गरिएको उनले स्पष्ट पारे। पछिल्लो समय टिकटकको माध्यमबाट विभिन्न ठाउँ तथा वस्तुहरू प्रचार भइरहेकोले चिचिलाको पार्कमा समेत टिकटक बनोस् भन्ने आफूहरूको चाहना रहेकोसमेत अध्यक्ष शेर्पाले बताए।

पार्कमा ‘फ्री वाइफाई’ नियमित गर्न गाउँपालिकाको प्राविधिकले नियमित रेखदेख तथा मर्मत गर्ने गरेको प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राईले बताए। पार्क क्षेत्र ठूलो भएकोले एकभन्दा बढी राउटर राखेर इन्टरनेट सेवा विस्तार गरिएको उनले जानकारी दिए। दुवै पार्कमा जडान गरिएको इन्टरनेटको महसुल गाउँपालिकाले तिर्दै आएको समेत राईले बताए।

नयाँ वर्ष, उभौली, उधौली, मकरसङ्क्रान्ति जस्ता विशेष दिनमा बढी पर्यटक आउने यी पार्कमा सदावहार पर्यटक भित्र्याउने उद्देश्यका साथ दुवै पार्कमा सेवा विस्तार गर्दै लगिएको चिचिला गाउँपालिकाका आर्थिक विकास समिति संयोजक पूर्णकुमार राईले बताए। दुवै क्षेत्र ‘पिकनिक स्पट’का रूपमा पनि विकास गरिँदै लगेको र पिकनिकमा आउनेका लागि पनि इन्टरनेट पहिलो आवश्यकता रहेको महसुस गरेर द्रुत गतिको इन्टरनेटको व्यवस्था गरिएको राईले बताए।

जिल्ला सदरमुकामबाट करिब अढाई घण्टाको पैदल दूरीमा रहेका दुवै पार्क जिल्लाकै महत्वपूर्ण पर्यटन गन्तव्यका रूपमा लिइन्छ। स्थानीय तहको स्थापनापछि चिचिला गाउँपालिकाले दुवै पार्कलाई बृहत् पर्यटन पार्क बनाउने योजनासहित पूर्वाधार निर्माणको समेत काम गरिरहेको छ। कप्ताने पोखरी क्षेत्रलाई समेटर मकालु हीरक पार्कको निर्माण भइरहेको छ। यो पार्क आठ वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेका थिए।

नेपाल–तिब्बत युद्धसँग किंवदन्ती जोडिएको कप्ताने पोखरी क्षेत्रको हाल पुनः निर्माण भइरहेको छ। चिचिला गाउँपालिका–४ मा रहेको माछा नै माछाले भरिएको मत्स्यपोखरी क्षेत्रको पनि गुरुयोजना बनाए बृहत् पार्कको निर्माण भइरहेको छ। करिब ११ करोड रुपियाँको लागत रहेको यस पार्कमा शिवलिङ्ग, बसाह, बुद्धको मूर्ति र माछाको प्रतिमासहितको पानीको फोहरा निर्माण भइसकेको छ। दुवै पार्क स्थानीय, प्रदेश र सङ्घीय सरकारको साझेदारीमा निर्माण गरिने भौतिक पूर्वाधार समिति संयोजक राजेन्द्र घलेले जानकारी दिए। गोरखापत्रबाट 

प्रकाशित: १९ फाल्गुन २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार