
काठमाडौं ।
दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडको अत्याधुनिक ‘इन्टिग्रेटेड डाटा सेन्टर’ तयार भएको छ। एनसेलले अन्य व्यावसायिक कम्पनीलाई समेत सेवा उपलब्ध गराउने गरी ललितपुरको नख्खुमा अत्याधुनिक डाटा सेन्टर तयार गरेको हो।
दुई अर्ब रुपैयाँमा चिनियाँ टेक कम्पनी ह्वावेको प्राविधिक सहयोगमा डाटा सेन्टर निर्माण गरिएको हो।
२०७२ को विनाशकारी भूकम्पका कारण धेरै अभिलेखहरु सुरक्षित नभएको महसुस गरी नेपालमा अत्याधुनिक डाटा सेन्टरको आवश्यक महसुस गरिएको थियो। भौगोलिक दृष्टिकोणले पनि नेपाल भूकम्पीय जोखिम क्षेत्रमा पर्छ। अभिलेखहरु सुरक्षित राख्नका लागि भूकम्प प्रतिरोधीका साथै उच्चकोटीको डाटा सेन्टरको आवश्यकता महशुस गरिएको थियो। यस्तोमा एनसेलले आफ्नो डाटा सहित अन्य कम्पनीहरुको पनि डाटा सूरक्षण गर्नका लागि आत्याधुनिक डाटा सेन्टर निर्माण गरेको हो।
डाटा सेन्टर ९ रेक्टर स्केलसम्मको भूकम्प प्रतिरोधी रहेको कम्पनीले जानकारी दिएको छ।
दुई तलाको भवनमा सञ्चालित डाटा सेन्टर टियर थ्री प्लस रहेको कम्पनीको दाबी छ। कन्टेनर डिजाइनमा रहेको डाटा सेन्टरको सर्भिस लाइफस्पान २५ वर्ष रहेको छ।
२५० र्याक रहेको डाटा सेन्टरमा ८८ ओटा २२० भोल्टको एसी र्याक र बाँकी १६२ आटो ४८ भोल्टको डिसी र्याक छ।
डाटा सेन्टर पूर्ण क्षमतामा सञ्चालनमा हुँदा ४ मेगावाट बिजुली आवश्यक हुनेछ। हाल करिब ६० प्रतिशत क्षमतामा सञ्चालन भइरहेको कम्पनीले जानकारी दिएको छ।
डाटा सेन्टरमा ऊर्जा आपूर्तिका लागि नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड फिडरका साथै डिजल प्लान्ट पनि स्थापना गरिएको छ। प्राधिकरणको विद्युतमा समस्या भएमा डाटा सेन्टरको व्याकअपले ३० मिनेटसम्म थेग्छ। तर बिजुली अवरुद्ध भएको केही सेकेन्डमै स्वचालित रुपमा डिजल प्लान्ट सञ्चालनमा आउँछ। ब्याकअपका लागि ५ ओटा डिजल प्लान्ट छन्।

तीन ओटा हलमा डाटा राखिएको छ। डाटा सेन्टरलाई २४ घण्टा निगरानी गर्नका लागि १०४ ओटा अत्याधुनिक सीसीक्यामरा जडान गरिएको छ।
मोनिटरिङ हलमा रहेका प्राविधिकहरुले २४ घण्टै डाटा सेन्टरको निगरानी गर्छन्। साथै डाटा सेन्टरमा देखिने प्राविधिक गडबढी पनि स्वचालित रुपमा मोनिटरिङ हलबाट नै व्यवस्थापन गरिन्छ।
दक्षिण एशियाली मुलुकहरुमा नै यस्तो अत्याधुनिक प्रविधि र क्षमतायुक्त डाटा सेन्टर नेपालमा बनाईएको एनसेलको दाबी छ।
प्रकाशित: ७ फाल्गुन २०७९, आईतवार