Technology Khabar ११ माघ २०७९, बुधबार
काठमाडौं ।
नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्स प्रालि र मर्कन्टाइल अफिस सिस्टम्स प्रालिबीच रणनीतिक सहकार्य भएको छ। बैंक तथा वित्तीय संस्थाहरूलाई गुणस्तरीय र भरपर्दो सेवा प्रदान गर्न रणनीतिक सहकार्य गरिएको हो।
सहकार्यसँगै अब मर्कन्टाइलको पुमोरी (पुमोरी शाखा) सफ्टवेयर इन्फोडेभलपर्ससँग मर्ज भएको छ। मर्ज भएसँगै इन्फोडेभलपर्स एमओएस (InfoDevelopers MOS) प्रालि नामक नयाँ कम्पनीबाट पुमोरी सफ्टवेयरको व्यवस्थापन तथा सेवा प्रदान हुनेछ।
रणनीतिक साझेदारी पश्चात सहकारीदेखि लघुवित्त र बैंकहरूको डिजिटल इकोसिस्टम विकासमा सहयोग गर्ने इन्फोडेभलपर्स एमओएसले विश्वास लिएको छ।
डिजिटल जगतलाई सुहाउँदो नयाँ र भरपर्दो प्रणालीको विकास गर्ने लक्ष्य इन्फोडेभलपर्स एमओएस(InfoDevelopers MOS)ले राखेको छ।
इन्फोडेभलपर्स एमओएसले दुवै कम्पनीको राम्रो पक्षलाई प्रयोग गरी चाँडै नयाँ प्रडक्ट तथा फिचरहरू ल्याउने तयारी गरेको छ।
नयाँ कम्पनी इन्फोडेभलपर्स एमओएस (InfoDevelopers MOS) प्रालिको अध्यक्षमा सञ्जिब राजभण्डारी नियुक्त भएका छन् भने सीइओमा उमेश रघुवंशी र सह सीईओमा सुरेन्द्र बज्राचार्य नियुक्त भएका छन्।
नेपालको आईटी तथा बैकिङ्ग क्षेत्रका लागि नयाँ आयाम सुरू गर्न पाउँदा अत्यन्तै हर्षित भएको कम्पनीले बताएको छ। परिवर्तन चुनौतीपूर्ण भएपनि ग्राहक तथा साझेदारहरूलाई सहज बनाउने कम्पनीले प्रतिवद्धता जनाएको छ।
सन् २००२ मा स्थापना गरिएको इन्फोडेभलपर्स प्रालि सहकारी र लघुवित्तका लागि कोर बैकिङ्ग सोलुसन विकास गर्ने अग्रगामी फिनटेक कम्पनी हो। नेपाल सरकार, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था, सहकारी तथा लघुवित्तका लागि विभिन्न परियोजना, प्रडक्ट र सेवा दिन ३०० बढी कर्मचारिहरुले काम गरिरहेका छन्।
मर्कन्टाइल अफिस सिस्टम्स प्रालि नेपालको एक पुरानो तथा अग्रगामी आइटी कम्पनी हो। संस्थाले विकास गरेको फ्ल्यागशीप कोर बैकिङ्ग सोल्युसन पुमोरी(Pumori) नेपालको शीर्ष स्थानको बैकिङ्ग सफ्टवेयर हो।
प्रकाशित: ११ माघ २०७९, बुधबार