Technology Khabar २५ पुष २०७९, सोमबार
काठमाडौं ।
ग्राहकहरूलाई सबैभन्दा किफायती र आकर्षक इन्टरनेट प्याकेजहरू प्रदान गर्दै आएको इन्टरनेट सेवा प्रदायक, सीजी नेटले नेपालकै पहिलो पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक गरेको छ।
यस योजना अन्तर्गत, कम्पनीले रु १०४९ मा २५० एमबीपीएस इन्टरनेट र रु.१,१५४ प्रति महिनामा २५० एमबीपीएस र आईपीटिभी प्रदान गर्ने जनाएको छ।
कम्पनीका अनुसार, यो योजनाले कम मूल्यमा उच्च गतिको इन्टरनेट खोज्ने ग्राहकहरूले अब एकमुष्ट रकम नतिरेर मासिक आधारमा भुक्तानी गर्न सक्ने भएकाले पोष्टपेड प्लानबाट उच्च लाभ लिन सक्नेछन् ।
ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै सीजीनेटले यो नयाँ पोस्टपेड योजना ल्याएको हो। “पहिले सेवा पछि पैसा”को अवधारणाले सुरु गरिएको यस योजनाले ग्राहकहरूलाई इन्टरनेट प्रयोग गरेपछि भुक्तानी गर्ने विशेष सेवा दिने बताएको छ।
यो नियमित प्रिपेड प्लानहरू भन्दा सस्तो छ, जसले मासिक रूपमा भुक्तानी गर्दा पनि वार्षिक प्याकेज बराबरको सेवा सुविधा प्रदान गर्छ। साथै, फिर्ता गरिने गरि रु २,५०० को धरौटी बाहेक ग्राहकले राउटर, ड्रप–वायर र जडान खर्च जस्ता कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्नेछैन ।
इन्टरनेट क्षेत्रको भुक्तानी प्रक्रियालाई नै रूपान्तरण गर्ने प्रयासमा, सीजीनेटले प्रयोगकर्ताहरूका लागि पहिले कहिल्यै नसुनेका लाभहरू सहित पोस्टपेड योजना ल्याएको छ।
यस योजनाको मुख्य उद्देश्य भनेको ग्राहकहरुलाई उत्कृष्ट भुक्तानी अनुभव र सेवाहरू प्रदान गर्नुका साथै सहज र स्वतन्त्रताका साथ इन्टरनेट प्रदान गर्नु हो । नेपाली इन्टरनेट उद्योगको भुक्तानी नीतिप्रति जनताको धारणा परिवर्तन गर्न सीजीनेटको यो नयाँ दृष्टिकोण अत्यन्त आशाजनक हुने कम्पनीले जनाएको छ।
प्रकाशित: २५ पुष २०७९, सोमबार