
काठमाडौं ।
नेपालले आफ्नै भूउपग्रह(स्याटेलाइट) पठाउन थालेपछि त्यसप्रतिको उत्सुकता बढेको छ। यसै क्रममा त्यसलाई बालबालिकाको तहदेखि नै अनुसन्धानको विषय बनाउन र भूउपग्रह बनाउन सिकाउन बेग्लै अभियान थालिएको छ कागजी भूउपग्रह अर्थात् ‘पेपर स्याट’। अन्तरिक्ष प्रतिष्ठान नेपालले दुई वर्षभन्दा माथिका बालबालिका र युवालाई ध्यानमा राखेर ‘पेपर स्याट’ अभियान थालेको हो।
नेपालले २०७६ वैशाख ५ गते ‘नेपाली स्याट वान’ नानो स्याटेलाइट अन्तरिक्षमा पठाएको थियो। अहिले मुनाल र डाँफे नामका दुई नानो स्याटेलाइट प्रक्षेपणको तयारी हुँदै गर्दा प्रतिष्ठानले शैक्षिक प्रयोजनका लागि नेपाली स्याटेलाइटको मोडेल (नमुना) स्याटेलाइट ल्याएको हो ।
नेपाली स्याटेलाइटको नमुना भूउपग्रहको नाम ‘पेपर स्याट’ दिइएको हो । ‘पेपर स्याट’ कागज र प्लास्टिकले बनेको नमुना भूउपग्रह हो । यो नमुना भूउपग्रह दुई वर्षभन्दा माथि उमेर समूहका बालबालिका र युवालाई लक्षित गरेर निर्माण गरिएको छ । वास्तमै भूउपग्रह कसरी बनाइन्छ, कस्तो देखिन्छ र यसले कसरी काम गर्छ भन्ने विषयबारे आधारभूत जानकारी दिने उद्देश्यले ‘पेपर स्याट’ ल्याइएको हो ।
बालबालिका र युवालाई स्याटेलाइट कसरी बन्छ, कस्तो देखिन्छ र यसले कसरी काम गर्छ भन्ने लगायतका जानकारी दिन र भूउपग्रहबारे कौतुहलता जगाउन ‘पेपर स्याट’ ल्याएका हौँ । हामीले यसलाई बालबालिकाका र युवाका लागि अध्ययन वा शैक्षिक सामग्रीका लागि मात्रभन्दा पनि यो उपहार वा सोभिनियरको रुपमा विकास गरेका छौँ’, अन्तरिक्ष प्रतिष्ठान नेपालमा स्याटेलाइट अनुसन्धानकर्ता विकल्प ढुङ्गानाले भने।
उनका अनुसार यसको निर्माण गर्दा नेपाली कला र संस्कृतिलाई प्राथमिकता दिइएको छ भने यसमा नेपाली कागज लोक्ता प्रयोग भएको छ । तर यसको उत्पादन गर्न सक्ने उद्योग नेपालमा भेटिएको छैन । ‘पेपर स्याट’को उत्पादन थ्रिडी प्रिन्टरको सहायताले गरिन्छ । यसको मूल्य दुई हजार रुपियाँ रहेको र धेरै उत्पादन हुन थालेपछि यसको मूल्य घट्ने बताइएको छ ।
‘पेपर स्याट’भित्र चित्र, तस्बिर र स्याटेलाइट बनाउन र जोड्न सिकाउने पुस्तिका (म्यानुअल) पनि राखिएको अनुसन्धानकर्ता ढुङ्गानाले बताउनुभयो । धेरै प्रयास र छलफलपछि हामीले नेपालका प्रत्येक व्यक्तिलाई भू¬उपग्रहबारे परिचय गराउने एउटा अनौठो र सजिलो तरिका लिएर आएका छौँ । त्यही चिज हो ‘पेपर स्याट’, अनुसन्धानकर्ता ढुङ्गानाले भने।
उनले आफूहरुले यो भूउपग्रहलाई कागज र प्लास्टिकबाट बनेको भूउपग्रहको रूपमा परिचय गराउने गरेको बताए। “धेरैले यो कागज र प्लास्टिक मात्र हो भन्न पनि सक्छन्, तर ‘पेपर स्याट’ले देखेको सपना कागज र प्लास्टिकभन्दा परको चिज हो । पेपर स्याटले नेपाली बालबालिका र युवालाई भूउपग्रहका क्षेत्रमा ठूलो सपना देख्न प्रेरित गर्छ भन्ने हाम्रो विश्वास छ”, उनले भने।
उनका अनुसार ‘पेपर स्याट’मा आठवटा जोड्ने स्थान र १२ वटा रेल हुन्छन् । तिनीहरुलाई जोड्दै गयौँ भने एउटा घनाकार बन्छ। यो बनाउँदा नेपाली स्याटेलाइट वानयुको क्युब स्याटको मानक (स्ट्यान्डर्ड) लाई लिएको छ । यसमा सोलार सेल कस्तो देखिन्छ, यसमा के कुरा रहेका छन् र स्याटेलाइट झ्वाटै बाहिरबाट हेर्दा कस्तो देखिन्छ भन्ने देखाउन त्यसको बाहिर बोर्डको एक भागमा नेपाली कला, संस्कृति झल्काउने प्रिन्टिङ गरेको र अर्को भाग खाली छाडिएको हुन्छ जहाँ बालबालिकाले केही कुरा पेन्टिङ गरेर आफ्नो सिर्जनशीलता देखाउन सक्छन् । गोरखापत्रबाट
प्रकाशित: २२ पुष २०७९, शुक्रबार