भारतले आफ्नै अन्तरिक्ष स्टेशन निर्माण गर्ने, भारी पेलोड बोक्ने पुन: प्रयोगयोग्य रकेट विकास गर्दै

  • Technology Khabar | १५ कार्तिक २०७९, मंगलवार
भारतले आफ्नै अन्तरिक्ष स्टेशन निर्माण गर्ने, भारी पेलोड बोक्ने पुन: प्रयोगयोग्य रकेट विकास गर्दै
फाइल तस्बिर

काठमाडौं ।

पछिल्लो समय अन्तरिक्ष क्षेत्रमा प्रभुत्व बढाउन हानाथाप भईरहेको छ। जसमा अमेरिकी अन्तरिक्ष एजेन्सी नासा (नासा), युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) र रुसको अन्तरिक्ष एजेन्सीहरू अगाडि देखिन्छन्। यसको एउटा कारण भनेको यी अन्तरिक्ष एजेन्सीहरूसँग अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) को सेटअप छ, जहाँ यी एजेन्सीहरूले आफ्ना अन्तरिक्ष यात्रीहरू पठाएर धेरै मिसनहरू पूरा गर्छन्।

अर्कोतर्फ हाम्रो छिमेकी चीनले आफ्नै अन्तरिक्ष स्टेशन पनि तयार गरिरहेको छ। अबभने अर्को हाम्रो छिमेकी भारतले पनि यसबारे सोच्न थालेको छ। भारतले सन् २०३५ सम्ममा आफ्नै अन्तरिक्ष स्टेशन स्थापना गर्ने योजना बनाएको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले यसको लागि कक्षमा भारी पेलोडहरू बोक्न सक्षम पुन: प्रयोगयोग्य रकेट विकास गर्न उद्योगलाई सहयोग गर्न प्रस्ताव गरेको छ।

यो रकेटलाई नेक्स्ट जेनेरेशन लन्च भेइकल (एनजीएलभी) भनिएको छ। इसरोका अध्यक्ष एस सोमनाथले अन्तरिक्ष एजेन्सीले यो रकेटको डिजाइनमा काम गरिरहेको बताएका छन्।

भारतीय समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै एस सोमनाथले भने, “हाम्रो उद्देश्य रकेटको विकासमा उद्योगलाई सँगै ल्याउने हो। हामी उद्योगले यो रकेट निर्माणमा लगानी गरोस् भन्ने चाहन्छौं।”

उनका अनुसार रकेटले १० टनको पेलोड जियोस्टेशनरी ट्रान्सफर अर्बिट (जीटीओ) वा २० टन लो-अर्थ अर्बिटमा लैजाने योजना छ। इसरोका अर्का एक अधिकारीकाअनुसार नयाँ रकेट सहयोगी हुनेछ किनकि भारतले सन् २०३५ सम्ममा आफ्नै अन्तरिक्ष स्टेशन स्थापना गर्ने योजना बनाएको छ।

यति मात्र होइन, इसरोले डीप स्पेस मिशन, ह्युमन स्पेस फ्लाइट, कार्गो मिशन जस्ता मिसनहरूमा ध्यान राखिरहेको छ र एकै समयमा धेरै सञ्चार भूउपग्रहहरूलाई कक्षमा राखेको छ। यसका साथ, एनजीएलभीलाई एक सरल, बलियो मेसिनको रूपमा परिकल्पना गरिएको छ जुन थोक उत्पादनको लागि डिजाइन गरिनेछ र कम लागतमा अन्तरिक्ष यातायात पूरा गर्नेछ।

सोमनाथले सन् १९८० को दशकमा विकसित प्रविधिमा आधारित ध्रुवीय स्याटेलाईट प्रक्षेपण वाहन (पीएसएलभी)लाई  भविष्यमा रकेट प्रक्षेपण गर्न प्रयोग गर्न नसकिने बताए। इसरोले अर्को एक वर्षमा एनजीएलभी डिजाइन गर्ने र उत्पादनको लागि उद्योगलाई प्रस्ताव गर्ने योजना बनाएको छ। यसको पहिलो प्रक्षेपण सन् २०३० सम्ममा गर्न सकिनेछ।

प्रकाशित: १५ कार्तिक २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार