
काठमाडौं ।
बेलायतको एक व्यक्तिले अफिसबाट घर जानका लागि क्याब बुक गर्दा ५२ लाख रुपैयाँ बराबरको बिल उठेको छ। बेलायतका २२ वर्षका ओलिभर कपलानले अफिसबाट घर जानका लागि उबर क्याब बुक गरेका थिए।
अफिसबाट घरको करिब १५ मिनेटको यात्रा गर्दा ३५ हजार ४७७ पाउण्ड स्ट्रलिङ ( ५१ लाख ८२ हजार ८३५ रुपैयाँ)को बिल उठेको ड्राइभस्पार्कले लेखेको छ।
कपलानले आफ्नो अफिसबाट विचवुडको एक पब नजिकै उत्रिने गरी स्थान तय गरेका थिए। उक्त समय कपलानलाई १५ मिनेट यात्राका लागि १०.८४ पाउण्ड स्ट्रलिङ (१ हजार ५८४ रुपैयाँ) अनुमानित भाडा देखाइएको थियो।
अर्को दिन कापलान सुतेर उठ्दा उबरबाट झड्का लाग्ने म्यासेज प्राप्त गर्छन्। जसमा लेखिएको थियो गत रातको सवारीको बिल करिब ५२ लाख रुपैयाँ छ।
छोटो यात्रा गर्दा किन यती धेरै बिल उठ्यो भनेर उनले उबरसँग सम्पर्क गरेका थिए। उबरले यस विषयमा जाँच गर्दा प्राविधिक समस्याका कारण यस्तो भएको जानकारी दियो।
उनले जुन स्थानमा ओर्लिनका लागि चयन गरेका थिए। सोही नामको अर्को स्थान अस्ट्रेलियामा पनि छ। उबरको एपमा प्राविधिक खराबी हुँदा अस्ट्रेलियाकै स्थानलाई सेट गरिएको थियो। एपले सोही स्थान मानेर उबरले कपलानलाई बिल पठाएको थियो।
कपलानको खातामा यति ठूलो रकम नभएकाले उबरले उक्त रकम कटौती गर्न भने सकेन। यदि उसको खातामा बिलमा उठेको बराबरको रकम भएको भए काटिन सक्थ्यो। खातामा पर्याप्त रकम नभएकाले उनलाई एक सिस्टम जनरेटेड म्यासेज प्राप्त गरे।
उबरमा यस्तो घटना घटेको पहिलो पटक हैन। सन् २०२० मा पनि यस्तो घटना भएको थियो। उक्त समय अर्का बेलायती छात्रले गलत स्थानमा प्रवेश गर्दा १ हजार ५३६ पाउण्ड स्ट्रलिङ (२ लाख २४ हजार ३९५ रुपैयाँ)को बिल दिइएको थियो।
त्यस समय क्याबमा यात्रा गरिरहेका छात्र क्याबमै सुतेका थिए। र पिकअप प्वाइन्टबाट करिब २५० माइल टाडा करिब ५ घण्टा पछि उठ्दा ठूलो रकमको बिल भइसकेको थियो।
प्रकाशित: २५ आश्विन २०७९, मंगलवार