नेपालमा हाइब्रिड प्रविधियुक्त मोटरसाइकल सार्वजनिक गर्दै यामाहा

  • Technology Khabar | ५ चैत्र २०८२, बिहीबार
नेपालमा हाइब्रिड प्रविधियुक्त मोटरसाइकल सार्वजनिक गर्दै यामाहा

काठमाडौं ।

यामाहा नेपालले देशमै पहिलो पटक हाइब्रिड प्रविधियुक्त मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेको छ। प्रतिष्ठित एफजेड सिरिजको विरासतलाई अझ अगाडि बढाउँदै कम्पनीले नेपाली बजारमा एक नयाँ सेगमेन्टको सुरुवात गर्न लागेको हो।

यस मोटरसाइकलको लन्च कार्यक्रम भोलि चैत्र ६ काठमाडौंमा गरिने कम्पनीले जनाएको छ।

करिब एक दशकभन्दा लामो समयदेखि नेपालका मोटरसाइकल प्रयोगकर्तामाझ लोकप्रिय रहँदै आएको यामाहा एफजेड सिरिज यसको मजबुत डिजाइन, सन्तुलित प्रदर्शन तथा भरपर्दो माइलेजका कारण विशेष पहिचान बनाएको छ।

जापानी प्रविधिमा आधारित यामाहाको विश्वसनीय इन्जिनियरिङले शक्ति, आराम र कार्यक्षमताबीच सन्तुलन कायम गर्दै आएको छ, जसले यसलाई देशभरका राइडरहरूको पहिलो रोजाइ बनाएको कम्पनीको दावी छ।

यसै परम्परालाई निरन्तरता दिँदै, यामाहाले अब हाइब्रिड प्रविधियुक्त नयाँ मोडेलमार्फत मोटरसाइकलिङको भविष्यतर्फ एक महत्वपूर्ण कदम चाल्दैछ। कम्पनीले “भविष्य आजबाट सुरु हुन्छ” भन्ने सन्देशका साथ आधुनिक र स्मार्ट प्रविधि दैनिक प्रयोगकर्तामाझ ल्याउने लक्ष्य लिएको छ।

नयाँ हाइब्रिड मोटरसाइकलले उत्कृष्ट प्रदर्शनसँगै इन्धनको बचत सुनिश्चित गर्नेछ। हाइब्रिड प्रविधिले परम्परागत इन्जिन शक्ति र इलेक्ट्रिक सहायताको संयोजनमार्फत सहज एक्सेलेरेसन, कम उत्सर्जन र उच्च माइलेज प्रदान गर्दछ।

यो नयाँ हाइब्रिड मोटरसाइकल १४९ सीसी एयर–कुल्ड, फ्युल–इन्जेक्टेड इन्जिनमा आधारित रहेको छ, जसलाई स्मार्ट हाइब्रिड असिस्ट प्रणालीले थप प्रभावकारी बनाएको छ। सामान्य मोटरसाइकल जस्तो फ्युल कम्बसनमा मात्र निर्भर नभई यस हाइब्रिड प्रणालीले स्टार्ट गर्दा र एक्सेलेरेसनका बेला ब्याट्रीमार्फत अतिरिक्त सहयोग प्रदान गर्दै समग्र राइडिङ अनुभवलाई सहज र उन्नत बनाउँछ।

कम्पनीका अनुसार करिब १३५ केजी तौलको हलुका संरचनाले मोटरसाइकललाई सजिलै सञ्चालन गर्न सकिने बनाएको छ। मोनोक्रस सस्पेन्सनले झट्का कम गर्दै आरामदायी यात्रा सुनिश्चित गर्छ भने सन्तुलित पावर डेलिभरीले सहर तथा राजमार्ग दुवैमा उत्कृष्ट नियन्त्रण प्रदान गर्दछ।डिजाइनतर्फ, यामाहाको ‘स्ट्रीट–लर्ड’ स्टाइललाई प्राथमिकता दिइएको छ।

इनबिल्ट साइडलाइट, छुट्टाछुट्टै हाई र लो बीम भएको एलईडी हेडलाइटले सबै अवस्थामा स्पष्ट दृश्यता प्रदान गर्छ। दुई तहको सिट डिजाइनले चालक तथा पछाडि बस्ने दुबैका लागि आरामदायी अनुभव दिन्छ भने मिडशिप मफलरले सन्तुलित ध्वनि उत्पादन गर्छ। साथै, इन्जिन अन्डर काउलले सुरक्षा र आकर्षण दुवै थपेको छ।

सुरक्षाका दृष्टिले पनि यसमा विशेष ध्यान दिइएको छ। फ्रन्ट डिस्क ब्रेकसँग सिंगल–च्यानल बोश एबीएस, २२० मिमी रियर डिस्क ब्रेक तथा १४० मिमी चौडाइको रियर टायरले उत्कृष्ट ग्रिप र स्थिरता प्रदान गर्छ। साथै, साइड स्ट्यान्ड इन्जिन कट–अफ स्विचले अतिरिक्त सुरक्षा सुनिश्चित गर्दछ।

आधुनिक सुविधाअन्तर्गत नेगेटिभ एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, आवश्यक जानकारीको सहज प्रदर्शन तथा ई२० इन्धनसँग अनुकूलता समावेश गरिएको छ, जसले वातावरणीय मापदण्डसँग मेल खान्छ।

यामाहाको देशव्यापी सञ्जालले ग्राहकलाई अझ भरोसायोग्य सेवा प्रदान गर्दै आएको छ। नेपालभर फैलिएको डिलरशिप, सेवा केन्द्र तथा अधिकृत सेवा प्रदायकमार्फत कम्पनीले गुणस्तरीय आफ्टर–सेल्स सेवा र जेनुइन पार्ट्स सहज रूपमा उपलब्ध गराउँदै आएको छ। 

प्रकाशित: ५ चैत्र २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार