विद्युत प्राधिकरणलाई स्मार्ट मिटरका लागि फ्रिक्वेन्सी, प्रति मेगाहर्ज १ करोड २० लाख रुपैयाँ

  • Technology Khabar | १५ आश्विन २०७९, शनिबार
विद्युत प्राधिकरणलाई स्मार्ट मिटरका लागि फ्रिक्वेन्सी, प्रति मेगाहर्ज १ करोड २० लाख रुपैयाँ

काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणले स्मार्ट मिटरका लागि रेडियो फ्रिक्वेन्सी फ्रिक्वेन्सी पाउने भएको छ। प्रति मेगाहर्ज १ करोड २० लाख रुपैयाँमा सरकारले दिने निर्णयको सूचना राजपत्रमा प्रकाशित भएको हो।

मन्त्रिपरिषद बैठकले रेडियो सञ्चार (लाइसेन्स) नियमावली २०४९ संसोधनको निर्णय गर्दै स्मार्ट मिटरका लागि आवश्यक फ्रिक्वेन्सी दिने निर्णय गरेकोले राजपत्रमा प्रकाशित भएको सूचना छ।

जसमा नियमावलीको अनुसूची ७ को प्रकरण ६ को खण्ड (ख) पछि खण्ड (ग) थप गरिएको जनाइएको छ।

अब स्मार्ट विद्युत मिटर, टेलिमेट्रिलगायतका अन्य यस्तै सेवा सञ्चालन वा सेवा प्रदान गर्न स्थापना भएको नेटवर्कमा प्रयोग हुने रेडियो उपकरणलाई फ्रिक्वेन्सी प्रयोगका लागि अनुमित पाएकोले सहज हुनेछ।

संशोधित व्यवस्था अनुसार ३० मेगाहर्ज देखि १०.५ गिगाहर्जसम्मको फ्रिक्वेन्सी प्रयोग गर्ने गरी कुनै पनि सार्वजनिक दूरसञ्चार नेटर्वकसँग मिलान नगरी स्मार्ट विद्युत मिटर, टेलिमेट्रि वा यस्तै प्रकारका अन्य सेवा सञ्चालन वा सेवा प्रदान गर्न स्थापना भएको नेटवर्कमा प्रयोग हुने रेडियो उपकरणको हकमा त्यस्ता नेटवर्कले ओगटेको आर.एफ ब्याण्डविथको आधारमा प्रति मेगाहर्ज फ्रिक्वेन्सी ब्याण्डविथको लागि १ करोड २० लाख रुपैयाँमा उपलब्ध गराउनुपर्छ।

अब दूरसञ्चार बाहेकका उपयुक्त सबै ब्यान्ड टेलिमेट्रिक प्रविधिका लागि खुला भएको हो।

विद्युत प्राधिकरणले स्मार्ट मिटरका लागि निःशुल्क फ्रिक्वेन्सी माग गरेपनि सरकारले प्राधिकरणले फ्रिक्वेन्सीका लागि शुल्क बुझाउनु पर्ने कानुनी व्यवस्था गरेपछि पैसा तिर्नुपर्ने भएको हो।

अब विद्युत प्राधिकरण लगायतका सम्बन्धित निकायहरूले आवश्यक फ्रिक्वेन्सीका लागि दरखास्त दिन सक्नेछन्।

विद्युत प्राधिकरणले ग्राहकलाई स्तरीय विद्युत् सेवा दिनेगरी स्मार्ट मिटर जडानका लागि विभिन्न योजना अघि सारेको छ।

काठमाडौँका दुई वितरण केन्द्र मातहत करिब एक लाख स्मार्ट मिटर जडान सम्पन्न गरिसकेको प्राधिकरणले चालू आर्थिक वर्षमा उपत्यका सबै घरमा स्मार्ट मिटर जडान सम्पन्न गर्ने लक्ष्य छ।

अनि विस्तारै सबै ग्राहकहरु स्मार्ट मिटरमा आबद्ध हुने छन्।

प्रकाशित: १५ आश्विन २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...