
काठमाडौं ।
पछिल्लो समय इन्टरनेट सेवामा आक्रामक सेवा बिस्तार गर्दै आएको डिशहोमले आईपी टिभी लन्च गरेको छ। पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्यनजर गरेर डिश मिडिया नेटवर्कले ‘आईटीभी’ ब्राण्डमा आईपी टिभीको सेवा शुभारम्भ गरेको हो।
डिशहोमले मंगलबार पत्रकार सम्मलेन गर्दै डिशहोम आईपी टिभीको घोषणा गरेको हो । केहि समयअघि अधिग्रहण गरेको प्रभु टिभीलाई नै फरक स्वाद र सुबिधा थपेर नयाँ सेवा सार्वजनिक गरेको जनाएको छ।
पे टिभीमा मात्र आफ्नो सेवा प्रदान गरिरहेको डिश मिडिया नेटर्वकले आफ्नो व्यवसाय लाई विस्तार संगै अन्य सेवा प्रदायक भन्दा उत्कृष्ट, सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्नका लागि केवल टिभी, ईन्टरनेट, टेरिस्टोरियल टिभी र आईपी टिभीमा समेत आफ्नो सेवालाई विस्तार गरेको छ।
कम्पनीले यसमा २०० भन्दा धेरै च्यानलहरु ५ हजार भन्दा बढि कन्टेन्टहरु भिडियो अन डिमान्डलगायतका विभिन्न एप र फिचरहरु समावेश गरेको छ।
आईपी टिभी सेटअप बक्समा १ जीबी र्याम र ८ जीबी स्टोरेज अप्सन रहेको छ भने यसमा क्विक एप लन्च बटनको सुबिधा रहेको छ।
फोरके भिडियो समेत हेर्न सकिने अत्याधुनिक सेट टप बक्समा एमलजिक एस९०५एक्स क्वाड कोर एआरएम कोर्टेक्स ए५३ सीपीयू रहेको छ।
कम्पनीका प्रबन्ध निर्देशक सुदिप आचार्यले नेपाली ग्राहकहरुलाई डिश होमको स्वाद दिँदै अत्याधुनिक प्रविधि भित्र्याएको जानकारी दिए।
उनले अहिलेका लागि यो डिशहोमको कम्बो प्याकका साथमा उपलब्ध गराउने बताए।
“आईपी टिभीमार्फत यस्तो सेवा दिँदैछौं जसले पारिवारिक हिसाबले मनोरन्जन लिन सक्नुहुनेछ। डिशहोमको च्यानल मात्र नभई भिडियाो कन्टेन्ट पनि आफ्नो तरिकाले हेर्न सक्नुहुनेछ,” उनले भने।
त्यसैगरी अध्यक्ष हेमराज ढकालले गाउँगाउँमा सूचना क्रान्ति गर्ने उद्धेश्यले डिशहोम शुरु गरिएको स्मरण गर्दै अब नयाँ प्रविधि भित्र्याएको बताए।
“हाम्रा ग्राहकहरुको चाहनाअनुसार हामी परिस्कृत हुँदै गएका छौं र त्यहिअनुसार आईटिभी लन्च गरेका हौं । यो नयाँ सर्भिसमा अझ बढि कन्टेन्टहरु हुनेछ,” अध्यक्ष ढकालले भने।
नेपालको एक मात्र डिटिएच सेवा प्रदायक डिश मिडिया नेटवर्क विगत १२ वर्षदेखि पे टिभी इन्डस्ट्रीमा आफ्नो बेग्लै पहिचान बनाउन सफल रहेको छ।
ग्राहकहरुको मन जिल्ल सफल इन्टरनेट सेवा डिशहोम फाइवरनेट, सबै भन्दा वढि सन्तुष्ट ग्राहक र ठुलो नेटवर्क रहेको केवल टिभी नेटवर्क सिम टिभी, र तार रहित टेरिस्टोरियल टिभी मार्फत ग्राहकहरुलाई आफ्नो सेवा प्रदान गरिरहेको छ।
प्रकाशित: ११ श्रावण २०७९, बुधबार