अनलाइनबाट दैनिक छ सय जनाले मतदाता नाम दर्ता गर्न पाउने

  • Technology Khabar | ३ श्रावण २०७९, मंगलवार

काठमाडौं ।

अनलाइनबाट गरिने मतदाता नामावली दर्तामा चाप बढेपछि निर्वाचन आयोगले उपत्यकाका तीन ओटै जिल्लामा दैनिक दर्ता गराउनेको सङ्ख्या सीमा बढाएको छ। आयोगले प्रत्येक जिल्लामा दैनिक छ सय जनाले ‘प्री रजिस्ट्रेसन’ गरेर बायोमेट्रिकका लागि समय पाउने व्यवस्था गरेको हो।

निर्वाचन आयोगले असार २९ गते देखि मतदाता नामावली अनलाइन दर्ता गर्न काठमाडौँ उपत्यकाका तीन जिल्लामा ‘पाइलट अपरेसन’ सुरु गरेको थियो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दुई सय जनाको सङ्ख्या सीमा राखेर अनलाइन दर्ता सुरु गरिएकोमा दैनिक अब छ सय जनाले नाम दर्ता गरेर बायोमेट्रिकका लागि समय लिन पाउने व्यवस्था गरि एको जानकारी दिए ।

अनलाइनमार्फत ‘प्री रजिस्ट्रेसन’ मा काठमाडौँ जिल्लामा हालसम्म करिब ५५० जनाले नामावली दर्ता प्रक्रिया टुङ्ग्याएका छन् । तर, हाल साउन ४ गतेसम्मका लागि मात्रै समय उपलब्ध गराइएको छ। चुनावको मिति साउन पहिलो साता नै सार्वजनिक हुने अपेक्षा गरिएको छ।

प्रवक्ता पौडेलले भने, “मङ्गलबारबाट लागू हुने गरी ७ गते सम्मका लागि दर्ता खुला गरिएको छ, चुनावको मिति घोषणा भएको दिनसम्म अनलाइन दर्ता गराएकाको बायोमेट्रिक लिएर नामावली दर्ता हुन्छ ।”

तर, अनलाइन दर्ता गराएका व्यक्तिले आफूले पाएको समयमा निर्वाचन कार्यालयमा बायोमेट्रिकका लागि नपुग्दा आयोगको चिन्ता बढेको छ।

निर्वाचन कार्यालय, काठमाडौँका प्रमुख ठाकुर प्रसाद भट्टराईले भने, “यसो हुँदा दर्ता गर्न नपाएर पर्खेका व्यक्ति वञ्चित भएका छन् भने स्रोत साधनको समुचित उपयोग हुन सकेको छैन ।”

समय लिएकामध्ये १४५ जना व्यक्ति मात्रै बायोमेट्रिकका लागि सोमबार जिल्ला निर्वाचन कार्यालय, काठमाडौँ पुगेका छन् । सफ्टवेयर प्रणालीले भने दुई सय जनालाई समय उपलब्ध गराएको थियो ।

प्रवक्ता पौडेलले भने, “उपत्यकाको जुनसुकै जिल्लाबाट अनलाइन दर्ताका लागि समय लिन पाउने व्यवस्था गरिएको छ।”

आयोगको उक्त व्यवस्थाले काठमाडौँ जिल्लाको सङ्ख्या सीमा पुगेपछि काठमाडौँकै व्यक्तिले ललितपुर वा भक्तपुर जिल्लाबाट काठमाडौँमा नामावली दर्ताका लागि समय लिन पाउने छन् । गोरखापत्रबाट

प्रकाशित: ३ श्रावण २०७९, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार