काठमाडौं ।
भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले गत हप्ता चिनियाँ स्मार्टफोन कम्पनी भिभोलाई कारबाही गर्यो र यसका धेरै बैंक खाताहरूबाट सयौं करोड भारतीय रुपैयाँ जफत गर्यो।
भिभोले भारतमा कर तिर्नबाट बच्न चीनलाई ६२ हजार ४७६ करोड भारतीय रुपैयाँ गैरकानूनी रूपमा ट्रान्सफर गरेको आरोप छ। यो कुरा बाहिर आएपछि ईडीले भिभो इन्डियाको बैंक खाता फ्रिज गरेको थियो।
तर बुधबार भारतको एक उच्च अदालतले भिभोको बैंक खातामाथिको प्रतिबन्ध हटाईदिएको छ। यसका साथै अदालतले चिनियाँ कम्पनीलाई ११ करोड ९० लाख अमेरिकी डलर (करिब ९५० करोड भारतीय रुपैयाँ) बैंक ग्यारेन्टी दिन आदेश दिएको छ।
रोयटर्सले आफ्नो रिपोर्टमा भनेअनुसार भिभो इन्डियाले दिल्ली उच्च अदालतमा फाइलिङमा प्रतिबन्धले आफ्नो व्यवसायलाई असर गरिरहेको र यसले बक्यौता र तलब तिर्न सक्षम नहुने बताएको छ। यस फाइलिङमा, १० बैंक खाताहरू सूचीबद्ध गरिएको थियो र २,८२६ करोड रुपैयाँ मासिक भुक्तानीको लागि आवश्यकता भएको भनिएको थियो।
भिभोको तर्कलाई स्वीकार गर्दै अदालतले सर्तसहित राहत दिएको हो।
ईडीले गत हप्ता भिभो इण्डिया र यसका सहयोगीहरूसँग जोडिएका ११९ बैंक खाताहरूमा ४६५ करोड रुपैयाँको रकम रोकेको भनेको थियो। ईडीले यसको पछाडि मनी लान्ड्रिंगलाई उद्धृत गरेको थियो।
अदालतले बैंक खातामाथि लगाइएको प्रतिबन्ध हटाउनका लागि ईडीलाई जुलाई १३ सम्मको समय दिएको थियो। भिभोको तर्फबाट यो मामिलामा अधिकारीहरूसँग सहकार्य गरिरहेको र भारतीय कानुनको पूर्ण पालना गर्न प्रतिबद्ध रहेको बताइएको छ।
अनुसन्धान एजेन्सीले तीन चिनियाँ नागरिक र अर्का एक व्यक्ति भारतका २३ कम्पनीमा संलग्न रहेको थाहा पाएपछि भिभोमाथि कारबाही गरिएको हो। सन् २०१८ देखि २१ सम्म सबै चिनियाँ नागरिकले भारत छोडेको बताइएको छ। उनीहरुको पहिचान बिन लु, झेङसेन ओउ र झाङ जी रहेको छ। बिन लु भिभोका पूर्व निर्देशक भएको बताईएको छ। उनले सन् २०१८ मा भारत छोडेका थिए भने बाँकी दुई नागरिकले २०२१ मा देश छोडेका थिए।
ईडीकाअनुसार यी (२३) कम्पनीहरूले भिभो इन्डियालाई ठूलो रकम हस्तान्तरण गरेका छन्। भिभो इन्डियाले भारु १,२५,१८५ करोडको कुल बिक्री आय मध्ये रु ६२,४७६ करोड वा भारत बाहिरको कारोबारको लगभग ५० प्रतिशत, मुख्यतया चीनमा पठायो।
भिभो माथिको यो आरोपले यसको प्रतिष्ठामा चोट पुगेको छ। भारतमा मोबाइल फोन बजारमा भिभोको महत्वपूर्ण बजार हिस्सा छ।
काउन्टरप्वाइन्टको अनुसन्धानले भारतको स्मार्टफोन बजारमा १५ प्रतिशतको बजार हिस्साका साथ दोस्रो नम्बरमा भिभो रहेको जनाएको छ। पहिलो स्थानमा शाओमी र तेस्रोमा सामसङ रहेको छ।
प्रकाशित: ३० असार २०७९, बिहीबार