भारतको गगनयान मिसन अर्को वर्ष सुरु हुँदै, पहिलो पटक मानिसलाई अन्तरिक्षमा पठाउने

  • Technology Khabar | ३० असार २०७९, बिहीबार
भारतको गगनयान मिसन अर्को वर्ष सुरु हुँदै, पहिलो पटक मानिसलाई अन्तरिक्षमा पठाउने

काठमाडौं ।

छिमेकी देश भारतले मिसन गगनयान अन्तर्गत आफ्नो पहिलो मानव अन्तरिक्ष उडानमा काम गरिरहेको छ। यसैसँग सम्बन्धित एउटा महत्त्वपूर्ण जानकारी बाहिर आएको छ।

भारतका केन्द्रीय विज्ञान तथा प्रविधि राज्यमन्त्री जितेन्द्र सिंहले भारतले अर्को वर्ष अन्तरिक्षमा मानिस पठाउने बताएका छन्। पत्रकार सम्मेलनमा जितेन्द्र सिंहले अर्को वर्ष भारतीय मूलका एक वा दुई जना अन्तरिक्षमा जाने बताएको भारतीय मिडियाहरुले रिपोर्ट गरेका छन्।

अन्तरिक्षमा मानिस पठाउने पछिल्लो अपडेटमा यो वर्षको अन्त्यसम्ममा दुईओटा परीक्षण गरिने बताइएको छ। पहिलो परीक्षणमा मानवरहित यान मात्र पठाइनेछ भने दोस्रो पटकमा महिला रोबोट (अन्तरिक्ष यात्री) पठाइनेछ। सो रोबोटको नाम व्योमित्रा राखिएको छ।

सो अन्तरिक्ष यान परीक्षणको नतिजा हेरेर भारतीय अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्षमा पठाउने विषयमा अन्तिम निर्णय हुनेछ।

सबै कुरा ठीक भएमा अमेरिका, रुस र चीनपछि भारत मानवलाई अन्तरिक्षमा पठाउने विश्वको चौथो देश बन्नेछ र यो सबै गगनयान मिसनबाट सम्भव हुनेछ।

यसअघिका मिडिया रिपोर्टहरूकाअनुसार भारतको पहिलो मानव मिसनमा खानाको ठूलो विविधता हुनेछ। यसलाई मैसूरको डिफेन्स रिसर्च एण्ड डेभलपमेन्ट अर्गनाइजेसन (डीआरडीओ) को प्रयोगशालामा तयार पारिएको छ।

गगनयान मिशनको उद्देश्य भारतीय प्रक्षेपण वाहनमा मानवलाई पृथ्वीको तल्लो कक्षमा पठाउनु र तिनीहरूलाई सुरक्षित रूपमा पृथ्वीमा फिर्ता ल्याउनु हो। यसरी देश अन्तरिक्ष क्षेत्रमा आफ्नो क्षमता देखाउन चाहन्छ ।

यसको लागि भारतका तीन ठूला संस्था इसरो, डीआरडीओ र हिन्दुस्तान एरोनटिक्स लिमिटेड मिसनसँग सम्बन्धित जिम्मेवारीहरू पूरा गर्न लागिरहेका बताईएको छ।

रिपोर्टकाअनुसार कोभिड–१९ ले यो आयोजनालाई पनि असर गरेको छ । यो वर्ष २०२१ को लागि लक्ष्य राखिएको थियो, तर अब यो मिति थपिएर अर्को वर्ष सम्म मिशन सुरु गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: ३० असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार