
काठमाडौं ।
ट्विटर इंकले ४४ अर्ब डलर सम्झौता उल्लङ्घन गरेको आरोपमा इलन मस्कमाथि मुद्दा दायर गरेको छ।
ट्विटरले आफ्नो प्रति शेयर ५४.२० डलरमा हुने भनिएको उक्त सम्झौता टुंगोमा पुर्याउन माग गर्दै डेलावेर अदालतमा मुद्दा दायर गरेको रोयटर्सले जनाएको छ।
‘डेलावेरको सम्झौता कानून अन्तर्गत पर्ने अन्य पक्षभन्दा फरक मस्कले आफ्नो मन फेर्न, कम्पनीलाई साइड लगाउन, शेयरधनीका मूल्यमान्यतालाई नष्ट गर्न र सुटुक्क भाग्न सकिन्छ भन्ने विश्वास गर्छन्’ उजुरी पत्रमा उल्लेख छ।
उक्त मुद्दा वाल स्ट्रीटको इतिहासमै सबैभन्दा ठूलो हुने देखिएको र यसमा विश्वकै धनी व्यक्तिको संलग्नता रहने भएकाले निकै चर्चामा रहेको छ।
गत शुक्रबार मस्कले फेक र स्पाम एकाउन्टका बारेमा सत्यतथ्य विवरण पेश गर्न नसकेकाले ४४ अर्ब डलरमा ट्विटर किन्ने सम्झौता रद्द गर्न लागेको बताएका थिए।
प्रकाशित: २९ असार २०७९, बुधबार