
काठमाडौं ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिचयपत्र बनाउन आउँदा अनावश्यक रङ्गीचङ्गी भएका लागि सामान्य रूपमा आउनू भन्दै फर्काउन थालेको छ। परिचयपत्र बनाउन आउँदा कपाल रङ्ग्याउने र अनुहारमा पनि भद्दा मेकअप गर्नेका कारण विभागले सामान्य रूपमा आउन आग्रह गरेको छ।
विभागका महानिर्देशक तीर्थराज भट्टराईले राष्ट्रिय परिचयपत्र व्यक्तिको पहिचान खुलाउने कागज भएकाले सक्कली अनुहार फोटोमा आउनुपर्ने बताए। उनका अनुसार त्यही फोटोको आधारमा भोलि राहदानी बनाउने प्रक्रियामा जानुपर्छ । देश विदेश पुग्नुपर्छ। त्यो बेलामा त्यही स्वरूप नरहन सक्छ। त्यस्तो भएमा व्यक्तिलाई अन्तर्राष्ट्रिय कानुनको झमेलामा पर्नुपर्छ।
उनले आम नेपालीको कपाल जन्मजात रूपमा कि त कालो कि त सेतो हुनसक्ने भन्दै कसैकसैको अपवादका रूपमा हल्का खैरो हुनु स्वाभाविक हुने बताए। तर मान्छेको स्वरूप नै फरक पर्ने गरी कपाल र अनुहारमा रङ दल्ने र अनेक गरगहना लगाएर अनुहार छोप्न नमिल्ने उनले उल्लेख गरे।
राष्ट्रिय परिचयपत्रकै आधारमा भविष्यमा सरकारले दिने विभिन्न सुविधाका प्रक्रियामा भाग लिनुपर्छ। त्यतिमात्र हैन अन्तर्राष्ट्रिय मापदण्डको राहदानी बनाउन आइकाओले तोकेअनुसारको परिचयसहितको फोटो हुनुपर्छ।
राहदानीको मानिस र परिचयपत्रको मानिसको अनुहार फरक देखिएमा भविष्यमा अनेक समस्या व्यक्तिले झेल्नुपर्ने हुन्छ। सोही समस्या नआओस् भन्नाका खातिर राष्ट्रिय परिचयपत्र बनाउने बखतमा कडाइ गरिएको महानिर्देशक भट्टराईले बताए। परिचयपत्र र नागरिकताको फोटोमा मेल नखाने गरी बदलिएको अस्वाभाविक अनुहार देखियो भने कर्मचारीले केरकार गर्छन्।
राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका निर्देशक ललितकुमार बस्नेतले भने, “सक्कल कागजपत्र मात्र हैन सक्कली अनुहारका साथमा आइदिनुभयो भने व्यक्ति र विभाग दुवैलाई सहज हुन्छ भनेर सम्झाउने गरेका छौँ।”
उनका अनुसार परिचयपत्रका लागि फोटो खिच्न आउँदा नागरिकता, बसाइँसराइ र महिलाको हकमा विवाहदर्ता प्रमाणपत्र वा अन्य नाता प्रमाणित गर्ने प्रमाणपत्रको सक्कलसहित उपस्थित हुनुपर्छ।
राष्ट्रिय परिचयपत्र बनाउन पहिले अनलाइन फाराम भरेर गएमा काम छिटो हुन्छ। पछिल्लो समय विभाग र विभागले तोकेका स्टेसनहरूमा राष्ट्रिय परिचयपत्र बनाउन सकिन्छ।
गत वर्षको मङ्सिरदेखि राहदानी बनाउँदा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ। जसका कारण विभागले तोकेका वितरण केन्द्रहरूमा राहदानीजस्तै परिचयपत्र लिनेको भीड अत्यधिक हुने गरेको छ। हालसम्म ८० लाख जनालाई राष्ट्रिय परिचयपत्रको नम्बर प्रदान गरिसकिएको छ। गोरखापत्रबाट
प्रकाशित: २८ असार २०७९, मंगलवार