
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल व्यालेन्सबाट विद्युतीय वस्तु तथा सेवा खरिद गर्ने सम्बन्धी कार्यविधि, २०७६ लाई खारेज गरेको छ।
प्राधिकरणले सो मोबाइल ब्यालेन्सबाट विद्युतीय बस्तु तथा सेवाहरु खरिद गर्दा दूरसञ्चार सेवा शुल्क लाग्ने गरेको र त्यसले उपभोक्ताहरुलाई थप आर्थिक भार पर्ने गरेको भन्दै कार्यविधि खारेज गरेको हो।
यसअघिसम्म नेपालमा मोबाइल वालेटहरुको सहज व्यवस्था नभएको भन्दै प्राधिकरणले मोबाइल ब्यालेन्सबाटै विद्युतीय बस्तु तथा सेवाहरु खरिद गर्न सकिने प्रावधान ल्याएको थियो।
जसअनुसार नेपाल टेलिकम, एनसेल तथा स्मार्ट टेलिकमका ग्राहकहरुले मोबाइल व्यालेन्स रकम बाट नै विद्युतीय बस्तु तथा सेवाहरु खरिद गर्न सक्ने थिए।
तर सरकारले त्यसमा लाग्दै आएको दूरसञ्चार सेवा शुल्कलाई हटाउन नमानेपछि त्यसको प्रयोग बन्द जस्तै रहेको थियो ।
यसैबिचमा बजारमा विभिन्न मोबाइल वालेटहरु आएसँगै सो सुबिधा प्रयोग बिहिन जस्तै भएको थियो।
प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले कार्यविधी पुरानो भएको र दूरसञ्चार सेवा शुल्कले ग्राहकहरुलाई थप आर्थिक भार परेको बताए।
“यो २ वर्ष पुरानो कार्यविधी थियो। त्यसबेला मोबाइल वालेटहरु थिएनन र ग्राहकहरुलाई सजिलो बनाउन ल्याईएको थियो,” उनले भने, “अहिले वालेटहरु प्रसस्त छन् भने यो व्यवस्थाले ग्राहकहरुलाई थप आर्थिक भार परिरहेको थियो। त्यसैले खारेज गर्यौं।”
यसअघि प्राधिकरणले सरकारलाई त्यस्तो खरिदमा दूरसञ्चार सेवा शुल्क नलाग्ने बनाईदिन अनुरोध गरेको थियो।
२०७६ पुस ४ गतेको बैठकबाट मोबाइल व्यालेन्सबाट विद्युतीय वस्तु तथा सेवा खरिद गर्ने सम्बन्धी कार्यविधि, २०७६ स्वीकृत गर्दै मोवाईल व्यालेन्स बाहेक हाल प्रचलित बजार अभ्यास अनुसार अन्य माध्यमबाट विद्युतीय बस्तु तथा सेवाहरु खरिद गर्दा दूरसञ्चार सेवा शुल्क लाग्ने व्यवस्था नभए बमोजिम मोवाईल व्यालेन्सबाट नन टेलिकम कन्टेन्ट खरिद गर्दा दूरसञ्चार सेवा शुल्क नलाग्ने व्यवस्था गर्न अनुरोध गरेको थियो।
तर कार्यविधि लागू भएको २ बर्षसम्ममा पनि दूरसंचार सेवा शुल्क नलाग्ने व्यवस्था कार्यान्वयन हुन नसकेकोले मोबाइल व्यालेन्सबाट विद्युतीय वस्तु तथा सेवा खरिद गर्दा लाग्ने दूरसंचार सेवा शुल्कले गर्दा आम उपभोक्ता यस सेवाबाट लाभान्वित हुन नसकी थप आर्थिक भारमा परेको प्राधिकरणको ठहर छ।
“यसका साथै विकल्पमा बजारमा विभिन्न मोवाईल वालेट, मोवाईल बैकिङ्ग सेवा प्रचलनमा आईसकेको हालको अवस्थामा विद्यमान व्यवस्थाबाट विद्युतीय बस्तु तथा सेवाहरु खरिद गर्दा थप शुल्क लाग्न गई उपभोक्ताहरुलाई मार पर्न नदिन प्राधिकरणबाट मिति २०७६।०९।०४ मा स्वीकृति मोबाइल व्यालेन्सबाट विद्युतीय वस्तु तथा सेवा खरिद गर्ने सम्बन्धी कार्यविधि, २०७६ खारेज गर्ने निर्णय गरियो,” प्राधिकरणले निर्णयमा भनेको छ।
प्रकाशित: २७ असार २०७९, सोमबार