
काठमाडौं ।
प्रभु क्यापिटल लिमिटेडले डिजिटल एप निर्माण गरी संचालनमा ल्याएको छ।ग्राहकलाई छिटो र सहज तरिकाबाट सेवा प्रदान गर्न उद्देश्यले क्यापिटलले बिहीबारबाट एप संचालनमा ल्याएको जनाएको छ।
यस मोबाइल एपबाट ग्राहकहरुले अनलाइनबाटै हितग्राही खाता तथा मेरो शेयर अनलाइन सेवाका लागि आवेदन दिन, भिडियो केवाइसी गर्न, हितग्राही खाताको विवरणहरु परिवर्तनका लागि निवेदन दिन, हितग्राही खाता तथा मेरो सेयरको नविकरण शुल्क भुक्तानी तथा पासवर्ड परिवर्तन गर्न निवेदनका साथै हितग्राही खाताको स्टेटमेन्ट माग गर्न सक्नेछन्।
यस्तै मोबाइल एपबाट लगानी व्यवस्थापन सेवामा जोडिनको लागि उपलब्ध योजनामा आवेदन दिन सकिने छ। यस मोबाइल एपबाट ग्राहकहरुले नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने कम्पनीहरुको कारोबारको विवरण तथा विभिन्न परिसुचकको अवस्थाको बारेमा हेर्न पाउने सुविधा रहेको क्यापिटलले जनाएको छ।
क्यापिटलकोअनुसार ओम्निच्यानल प्रविधि प्रयोग गरेर बनाइएको यस एपबाट ग्राहकहरुले प्रभु क्यापिटलमा अनलाइनबाटै डिम्याट खाता खोल्नुका साथै आफूलाई पायक पर्ने समयमा भिडियो केवाइसिको लागि समय लिई सो समयमा भिडियो केवाइसी सम्पन्न गर्न सक्नेछन्। यसका साथै आफ्नो डिम्याट खातालाई लिंक गरेर डिम्याट खाता तथा मेरो शेयर सम्बन्धी सम्पूर्ण सेवा मोबाइलबाटै लिन सक्ने जनाएको छ।
प्रकाशित: २४ असार २०७९, शुक्रबार