
काठमाडौं ।
नियमनकारी निकायले नेटवर्क सेवा प्रदायकहरुको व्याडविथ सेवाको बिक्री गर्ने महशुल दरको बारेमा अध्ययन गर्ने भएको छ।
दूरसञ्चार सेवाको नियमनकारी नेपाल दूरसञ्चार प्राधिकरणले ब्याण्डविथ आयात गर्ने नेटवर्क सेवा प्रदायकहरुले आयात गरेको दर तथा अन्य इन्टरनेट सेवा प्रदायकहरुसँग लिएको बिक्री शुल्कको बारेमा अध्ययन गर्ने भएको छ।
पछिल्लो समय नेटवर्क सेवा प्रदायकहरुले सस्तोमा ब्याण्डविथ आयात गर्ने तर मनपरी शुल्क तोकेको भन्दै अध्ययन गरेर नियमन गरिने भएको हो।
“एनएसपीहरुले जथाभावी मुल्य तोक्न थालेको देखियो। त्यसैले यसलाई प्रतिस्पर्धी बनाउन अध्ययन र नियमन गर्न लागिएको हो।” प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भने, “यसको लागि प्राधिकरणले आन्तरिकरुपमा समिति नै बनाएर अध्ययन गराउने र सोहि अध्ययनको आधारमा आगामी दिनमा नियमन र अनुगमन गरिने छ।”
त्यसको लागि प्राधिकरण बोर्डको असार २ गतेको बैठकले ‘नेटवर्क सेवा प्रदायकहरुले व्याडविथ आयात गर्दाको दर यकिन गर्न नसकिने र आयात गरिएको दरको आधारमा बिक्री दर तय हुने हुँदा आयात गरेको दर रेटमा के कति मुनाफा (मार्जिन) राखी विक्री गर्न उपयुक्त हुन्छ अध्ययन गरी विकल्पहरुसहित पेश गर्न व्यवस्थापनलाई निर्देशन दिने’ निर्णय गरेको थियो।
यसको लागि प्राधिकरणले केहि दिनभित्रै समिति गठन गरेर काम शुरु गर्ने बताईएको छ।
हालसम्म प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई स्वीकृति लिएर मात्र सेवा शुल्क तोक्ने व्यवस्था गरेको भएपनि नेटवर्क सेवा प्रदायकहरुले लिने बिक्री दरको बारेमा कुनै आधार तोकेको छैन्।
प्रकाशित: २४ असार २०७९, शुक्रबार