
काठमाडौं ।
प्रेस काउन्सिल नेपालले पत्रकार तथा सञ्चार माध्यमलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै सचेत गराएको छ। काउन्सिलका उपप्रशाकीय अधिकृत रामशरण बोहराकाअनुसार केही सञ्चार माध्यम र पत्रकारले पछिल्लो समय आचारसंहिता प्रतिकूल गतिविधि गरेको देखिएकाले सचेत गराइएको हो।
पत्रकारले सामाजिक सञ्जालमा स्टाटस लेखेर दलीय उम्मेदवारको पक्षमा प्रचार प्रसार गरेको काउन्सिलले जनाएको छ। त्यस्तै, सञ्चार माध्यमहरुले आचारसंहिताको प्रतिकूल समाचार सम्प्रेषण गरेकाले आइन्दा त्यसो नगर्न नगराउन सचेत गराइएको बोहराले जानकारी दिएका छन्।
पत्रकार लोग्शरी कुँवरले सामाजिक सञ्जालमा स्टाटस लेख्दै एमाले उम्मेदवारको पक्षमा प्रचार प्रसार गरी पत्रकार अचारसंहिता २०७३ (पहिलो संशोधन, २०७६) को दफा १४ र निर्वाचन आचारसंहिता २०७८ को दफा ४ (थ) र दफा २२ को (च) उल्लङ्घन गर्नुभएको काउन्सिलले जनाएको छ।उनलाई काउन्सिलको तर्फबाट सचेत गराइसकिएको बोहराले जानकारी दिए।
त्यस्तै, पत्रकार राज सापकोटाले हेटौँडा उपमेयर उम्मेदवारको पक्षमा सामाजिक सञ्जालमार्फत प्रचार प्रसार गरेको भन्दै काउन्सिलले उहाँलाई सचेत गराएको जनाएको छ । उहाँको स्टाटसले पनि पत्रकार अचारसंहिता २०७३ (पहिलो संशोधन, २०७६) को दफा १४ र निर्वाचन आचारसंहिता २०७८ को दफा ४ (थ) र दफा २२ को (च) आकर्षित भएको काउन्सिलले जनाएको छ ।
सोहीअनुसार रेडियो पत्रकार उषा लोहनीले काठमाडौँ महानगरपालिका प्रमुखको महिला उम्मेदवारको पक्षमा सामाजिक सञ्जाल मार्फत प्रचार प्रसार गरेको भन्दै काउन्सिलले सचेत गराएको छ । सामाजिक सञ्जालमार्फत
उहाँले गर्नुभएको प्रचार प्रसारमा पनि पत्रकार अचारसंहिता २०७३ (पहिलो संशोधन, २०७६) को दफा १४ र निर्वाचन आचारसंहिता २०७८ को दफा ४ (थ) र दफा २२ को (च) उल्लङ्घन गर्नुभएको काउन्सिलले जनाएको छ ।
त्यस्तै, काउन्सिलले रिपब्लिका दैनिक डट कमलाई तीन दिने स्पष्टीकरण सोधेको छ। उपप्रशासकीय अधिकृत बोहराकाअनुसार सो न्यूज पोर्टलले ‘एमालेका मेयरको उम्मेदवारको महिलासँगको यौन सम्पर्कवाला अश्लील अडियो र भिडियो सार्वजनिक’ शीर्षकमा गत वैशाख १६ गते समाचार सम्प्रेषण गरेको थियो । सो सामग्री सम्प्रेषणले पत्रकार अचारसंहिता २०७३ (पहिलो संशोधन, २०७६) को दफा ४ को (६), ५ को (२) र निर्वाचन आचारसंहिता २०७८ को दफा ४ (थ) र दफा २२ को (ख) प्रतिकूल देखिएको काउन्सिलले जनाएको छ ।
सोहीअनुसार दैनिक हब डट कमलाई पनि काउन्सिलले आचारसंहिता पालनाका लागि सचेत गराएको छ । सो न्यूज पोर्टलले वैशाख १९ गते ‘भक्तपुरका एमाले उत्साहित, गठबन्धन निरुत्साहित’ शीर्षकमा समाचार सम्प्रेषण गरेको काउन्सिलको भनाई छ । सो समाचार सम्प्रेषणले पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७६) को दफा ४ (६) र निर्वाचन
आचारसंहिता २०७८ को दफा २२ (ख) प्रतिकूल देखिएको काउन्सिलले जनाएको छ ।
त्यस्तै, जनआस्था डट कमसँग पनि काउन्सिलले तीन दिनभित्र स्पष्टीकरण माग गरेको छ। सो सञ्चार माध्यमले वैशाख १६ गते ‘एमाले सचिव र मेयरका उम्मेदवारको रंगिला संवाद छरपस्ट, राष्ट्रपतिले दिने पुरस्कारमै प्रश्नचिन्ह’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो । सो समाचारले पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७६) को दफा ४ (६), ५ (२) र निर्वाचन आचारसंहिता २०७८ को दफा ४ (ढ) र दफा २२ (ख) प्रतिकूल
देखिएको काउन्सिलले जनाएको छ।
सोहीअनुसार रेसुङ्गा टुडे डट कमलाई पनि आचारसंहिता प्रतिकूल समाचार सम्प्रेषण नगर्न काउन्सिलले सचेत गराएको छ । सो सञ्चार माध्यमले वैशाख १९ गते ‘त्रिपुरा सुन्दरीमा बोहराको जीत सुनिश्चित’ शीर्षकमा समाचार सम्प्रेषण गरेको काउन्सिलले जनाएको छ । सो समाचार सम्प्रेषणले पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७६) को दफा ४ (६), (१२) र निर्वाचन आचारसंहिता २०७८ को दफा २२ (ख) प्रतिकूल देखिएको काउन्सिलले जनाएको छ।
यसैबीच काउन्सिलले सत्यतथ्य समाचार डट कमलाई नेपालभित्र सम्प्रेषण गर्न नमिल्नेगरी व्यवस्था गर्न काउन्सिलले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको जनाएको छ । सो सञ्चार माध्यमले वैशाख १९ गते ‘घरदैलो शुरु गरेसँगै वडा नम्बर २ का अध्यक्ष उम्मेदवार मनोज रानाभाटको विजय शुरु, रत्ननगरमा गठबन्धनको घरदैलो सक्रियता बढ्यो, नगरबासीले गरे भव्य स्वागत’ शीर्षकमा समाचार सम्प्रेषण गरेको काउन्सिलको भनाई छ।
सो समाचारले निर्वाचन आचारसंहिता २०७८ को दफा २२ (ख) उल्लङ्घन भएको काउन्सिलको ठहर छ। इलेक्सन बुलेटिनबाट
प्रकाशित: २२ बैशाख २०७९, बिहीबार