
काठमाडौं ।
बेलायतका केही संस्थाहरुको एउटा समूहले विश्वकै सबैभन्दा ठूलो रेडियो टेलिस्कोपलाई नियन्त्रण गर्न ‘ब्रेन’ को प्रोटोटाइप तयार गर्ने भएका छन्।
स्क्वायर किलोमिटर एरे अर्थात् एसकेए नामका उक्त रेडियो टेलिस्कोपमा १९७ ओटा डिश तथा १ लाख ३० हजार ओटा एन्टेना दक्षिण अफ्रिकादेखि अस्ट्रेलियासम्म फैलिएका बीबीसीले उल्लेख गरेको छ।
अपेक्षा अनुरुप काम गर्नका लागि यी सबै एन्टेना र डिशहरुलाई एक आपसमा आबद्ध गराउनुपर्ने बताइएको छ।
यसलाई नियन्त्रण गर्ने उद्देश्यले हाल विकास गरिँदै गरेको उक्त सफ्टवेयर समग्र नेटवर्कमा लागू गर्नुअघि पूर्वाधारको सानो समूहमा परीक्षण गरिने जनाइएको छ।
एसकेए आफैंमा एउटा विशाल कम्प्युटिङ चुनौती रहेको अक्सफोर्डशायरको हार्वेल क्याम्पसमा रहेको आरएएल स्पेसका खगोल समूहका अग्रणी डा क्रिश पियर्सनले बताएका छन्।
‘हामीले एसकेएबाट आउने लगभग प्रति वर्ष ६ सय पेटाबाइट डाटा विश्वभरका खगोलविदहरुलाई पठाउनुपर्ने हुन्छ’, उनले बीबीसीलाई भने।
यो निकै चुनौतीपूर्ण काम भएको, यसको प्रोसेसिङमा तथा डाटा ट्रान्सफरमा समस्या आउनसक्ने उनले थपे।
प्रकाशित: ३० चैत्र २०७८, बुधबार