
काठमाडौं ।
अब एउटा माइक्रोचिप फिट गरेर आफ्नै हातले अनलाइन भुक्तानी गर्न सकिने भएको छ।
प्याट्रिक पमेन नामक एक व्यक्ति हिजोआज विभिन्न किनमेल केन्द्र तथा रेस्टुरेन्टमा बिल तिर्ने फरक तरिकाका कारण निकै चर्चित रहेको बीबीसीले उल्लेख गरेको छ।
३७ वर्षीय पमेन चर्चित हुनुको पछाडि उनले कुनै पनि अनलाइन भुक्तानी गर्दा बैंकको कार्ड वा मोबाइल फोन प्रयोग नगर्नु हो।
सामान्य व्यक्तिले अनलाइन भुक्तानी गर्दा प्रयोग गर्ने यस्ता बैंक कार्ड तथा मोबाइल नम्बरको सट्टा उनले आफ्नै हात कन्ट्याक्टलेस कार्ड रिडरमाथि राख्छन् र तुरुन्तै भुक्तानी भइहाल्छ।
‘क्याशियरहरुबाट आउने प्रतिक्रिया बहुमूल्य हुन्छन्’,नेदरल्याण्ड्समा सेक्युरिटी गार्डको काम गर्ने पमेनले भने।
उनले सन् २०१९ मा आफ्नो हातमा कन्ट्याक्टलेस पेमेन्ट माइक्रोचिप लगाएपछि हातबाटै यस्तो भुक्तानी सम्भव भएको बीबीसीले जनाएको छ।
‘यो प्रक्रियामा कसैले चिमोटेको जति पीडा हुन्छ’, पमेनले भने।
यस्तै खालको पहिलो माइक्रोचिप सन् १९९८ मा मानव शरीरमा राखिएको थियो। तर त्यतिबेला यसरी भुक्तानी गर्ने संयन्त्र बनिनसकेका कारण उपयोगी भएको थिएन।
ब्रिटिश-पोलिश संस्था वालेटमोरले गत वर्ष यस्तो भुक्तानी चिप बिक्री गर्ने आफूहरु पहिलो कम्पनी भएको बताएको छ।
‘यसरी चिप राखेपछि रियोको समुद्री किनारामा पेय पदार्थ, न्यूयोर्कमा कफी, पेरिसमा कपाल काटेको र आफ्नै नजिकको स्थानीय खाद्य पसलमा भुक्तानीका लागि प्रयोग गर्न सकिन्छ’, वालेरटमोरका संस्थापक तथा सीईओ वोज्टेक पाप्रोताले भने।
प्रकाशित: ३० चैत्र २०७८, बुधबार