क्रेडिट कार्ड जारी गर्ने नेपालकै पहिलो विकास बैंक बन्यो कामना सेवा

  • Technology Khabar | २१ चैत्र २०७८, सोमबार
क्रेडिट कार्ड जारी गर्ने नेपालकै पहिलो विकास बैंक बन्यो कामना सेवा

काठमाडौं ।

समय सापेक्ष ग्राहक महानुभावहरुको चाहना अनुसार नवीनतम प्रविधिमार्फत सेवाहरु प्रवाह गर्दै आएको कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा पुर्याउने उद्देश्यका साथ क्रेडिट कार्ड सेवा समेत शुभारम्भ गरेको छ।

बैंकले २०७८ साल चैत्र २१ गते सोमबारबाट औपचारिक रुपमा क्रेडिट कार्ड सेवा सुचारु गरि क्रेडिट कार्ड जारी गर्ने नेपालकै पहिलो विकास बैँक हुन सफल भएकोे छ।

बैंकका अध्यक्ष सुदिप आचार्य र सञ्चालक विश्वेश्वर सुवेदीले संयुक्त रुपमा क्रेडिट कार्ड सेवाको समुद्घाटन गरि सेवा शुभारम्भ गरेका थिए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतलगायत बैंकका अन्य कर्मचारीहरु तथा संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

विकास बैंकहरुको माझ नयाँ खालको प्रोडक्टहरु ल्याई ग्राहक महानुभावहरुको चाहना र आवश्यकताहरु पुरा गर्दै अगाडि बढेको हुँदा नै कामना सेवा उत्कृष्ट मध्ये एक विकास बैंक बनेको बैंकका अध्यक्ष सुदिप आचार्यले बताए।

पोइन्ट अफ सेलमार्फत क्रेडिट कार्ड कारोबार गर्दा कारोबार सुरक्षित रहने, भिजा कार्ड स्वीकार्ने एटिएमबाट नगद झिक्न सकिने, भुक्तानी गर्दा न्यूनतम् नेपाली रूपैयाँ १००० अथवा जम्मा डेबिट रकमको १० प्रतिशत सम्म झिक्न सकिने, कार्डबाट बस्तु वा सेवा खरिद कारोबार गर्दा न्यूनतम् १५ देखि ४५ दिन सम्म ब्याज नलाग्ने, क्रेडिट कार्ड सीमा नेपाली रूपैयाँ १५,००० देखि ५,००,००० सम्म पाउने र नेपाल लगायत भारतमा समेत सजिलै प्रयोग गर्न सकिने जस्ता विशेषताहरु यस कामना सेवा विकास बैंकको क्रेडिट कार्डमा उपलब्ध रहेको बैंकले जनाएको छ ।

प्रकाशित: २१ चैत्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...