नबिल बैंकद्वारा नेपाल बंगलादेश बैंकलाई एक्विजिसन गर्न राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति

  • Technology Khabar | २९ फाल्गुन २०७८, आईतवार
नबिल बैंकद्वारा नेपाल बंगलादेश बैंकलाई एक्विजिसन गर्न राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक (एनबी) गाभ्न आज सैद्धान्तिक सहमति प्रदान गरेको छ । नबिल बैंकले एनबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो ।

एनबी बैंकको एक्विजिसन पश्चात् नबिल बैंक चुक्ता पुँजी, कर्जा लगानी, निक्षेप परिचालन, खुद मुनाफा तथा अन्य वित्तीय सूचकहरुमा अग्रणी बैंकको रुपमा स्थापित हुने देखिन्छ। हाल नबिल बैंकको चुक्ता पुँजी करिब १८ अर्ब ५० करोड र एनबी बैंकको करिब १० अर्ब ९ करोड रहेको छ। यस एक्विजिसन पश्चात् हाल सहमत गरिएको स्वाप रेसियो अनुरुप बैंकको चुक्ता पुँजी करिब २३ अर्बको हुनेछ।

पौष मसान्तसम्ममा नबिल बैंकसँग २९ अर्ब भन्दा बढी र एनबी बैंकसँग १४ अर्ब भन्दा बढी प्राथमिक पुँजी रहेकोमा एक्विजिसन पश्चात् बैंकको प्राथमिक पुँजी ४४ अर्ब भन्दा बढी हुन आउनेछ। यसले राष्ट्रिय गौरव तथा निर्माणका क्रममा रहेका ठूला आयोजनाहरुमा नबिल बैंकको प्रमुख वित्तीय लगानी रहँदै आएकोमा थप व्यवसाय विस्तार गर्न मद्दत पुग्ने देखिन्छ । यसैगरी छ महिनाको अवधिमा नबिल बैंकको खुद मुनाफा २ अर्ब १८ करोड भन्दा बढी तथा एनबी बैंकको ८१ करोड भन्दा बढी रहेकोमा एक्विजिसन पश्चात् बैंकको खुद मुनाफा २ अर्ब ९९ करोड भन्दा बढी कायम हुनेछ।

यस एक्विजिसन पश्चात् नबिल बैंकको कुल कर्जा करिब ३ खर्ब १ अर्ब र कुल निक्षेप करिब ३ खर्ब १८ अर्ब कायम हुनेछ। यसका साथै, एनबी बैंकसँग एकीकृत कारोबार सुरु भएपछि नबिल बैंकको शाखा सञ्जाल २४१ र एटीएम संख्या २९२ पुग्नेछ।

प्रकाशित: २९ फाल्गुन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...
Desktop Popup ImageMobile Popup Image×