
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरण व्यवस्थापन र स्वतन्त्र कर्मचारी यूनियनहरुबिच चलिरहेको आन्दोलन रोक्न सहमति भएको छ। विगत केहि सातादेखि कर्मचारीको वृत्ति विकास र दूरसञ्चार क्षेत्रको सुधारको मागहरु राख्दै आन्दोलनमा रहेका कर्मचारीहरुले व्यवस्थापनसँगको सहमतिपछि आफ्नो आन्दोलन हाल स्थगित गरेका छन्।
नेपाल दूरसञ्चार प्राधिकरणको स्वतन्त्र कर्मचारी यूनियनले आज बिहिबार व्यवस्थापनसँग आफ्ना मागहरु पुरा गर्ने गरी सहमति गरेको हो।
कर्मचारी यूनियनका एक अधिकारीले आज यूनियन र व्यवस्थापनबीच सहमति भएको र हालको लागि आन्दोलन स्थगित गरिएको बताए।
“कर्मचारीहरुले लामो समयदेखि माग गर्दै आएको विनियमावली संसोधन र वृत्ति विकासको विषयलाई चैत पहिलो साताभित्र मन्त्रालय पठाउनेगरी तयार पार्न सहमति भएको छ,” उनले टेक्नोलोजीखबरसँग भने, “त्यसैगरी प्राधिकरणको कार्यालय राख्न जग्गा र भवनको लागि वैकल्पिक उपाय खोजी गर्ने सहमतिसमेत भएको छ।”
उनकाअनुसार हाल प्राथमिकतामा उल्लेखित २ विषय राखिएको र त्यसपछि अन्य मागहरुको बारेमा समेत छलफल गरेर टुंग्याईने बताईएको छ।
यसअघि रेडियो नेपालको जग्गा किनेर कार्यालय स्थापना गर्ने सरकारको निर्णयका साथमा तयारी गरिएपनि भनिएअनुसारको जग्गा रेडियो नेपालको नाममा नभएको खुलेको थियो।
आज भएको सहमतिसँगै कर्मचारीहरुले शुक्रबार आयोजना हुन लागेको प्राधिकरणको वार्षिकोत्सव कार्यक्रममा सहभागिता जनाउने भएका छन्।
यसअघि कर्मचारी यूनियनले ‘एनटिए डे’ नै बहिस्कार गर्ने चेतावनी दिँदै प्राधिकरणमा आन्दोलन तथा धर्ना गर्दै आएका थिए। उनीहरुले कर्मचारीको सेवा सुबिधा, वृत्ति विकास, भवन निर्माण, दूरसञ्चार क्षेत्रको सुधार र विकास लगायतका मागहरु राखेर आन्दोलन गरिरहेका थिए।
उनीहरुले प्राधिकरण अध्यक्षको कार्यकक्ष अगाडी नै धर्ना समेत दिईरहेका थिए भने विभिन्न विरोधका कार्यक्रमहरु समेत आयोजना गरिरहेका थिए।
सहमतिअनुसार चैत पहिलो सातासम्म आफ्ना मागहरु पुरा नभए पुनः आन्दोलनमा जाने चेतावनी समेत दिएका छन्।
यो पनि हेर्नुस्-
तपाईँको हराएको विन्डोज ल्यापटप कसरी फेला पार्ने वा लक गर्ने? जान्नुहोस् पूरा प्रक्रिया
प्रकाशित: १९ फाल्गुन २०७८, बिहीबार