
काठमाडौं ।
मोबाइल बैकिङमार्फत् गरिएको कारोबार रकम तथा सङ्ख्या उकालो लाग्ने क्रमले निरन्तरता पाएको छ।
चालु आर्थिक वर्ष २०७८/७९ को शुरुवाती तीन महिनामा मोबाइल बैंकिङमार्फत् गरिएको कारोबार सङ्ख्या र रकममा उल्लेख्य वृद्धि भएको भए पनि चाैथो महिना अर्थात् कार्तिकमा भने नराम्री ओरालो लागेको थियो। तर मंसिर र पुष मसान्तमा भने रकम र सङ्ख्यामा निकै बढोत्तरी हुने क्रम निरन्तर छ।
नेपाल राष्ट्र बैंकद्वारा हालै जारी पुष मसान्तसम्मको प्रतिवेदन अनुसार पुष महिनामा मोबाइल बैकिङमार्फत् ९४ अर्ब ४० करोड ७० लाख रुपैयाँ बराबरको १ करोड ३५ लाख १८ हजार ९३६ ओटा कारोबार भएका छन्।
कारोबार सङ्ख्या बढेसँगै यो अवधिमा कारोबार रकम पनि उल्लेख्य मात्रामा वृद्धि भएको पाइएको छ।
अघिल्लो महिना अर्थात् मंसिर मसान्तसम्म मोबाइल बैंकिङमार्फत् ८८ अर्ब ५३ करोड १० लाख रुपैयाँ बराबरको १ करोड ३० लाख ६४ हजार ६८४ ओटा कारोबार भएको थियो।
यो आँकडालाई तुलनात्मक रुपमा हेर्दा मंसिर देखि पुषसम्मको १ महिनाको अवधिमा मोबाइल बैंकिङमार्फत् ५ अर्ब ८७ करोड ६० लाख रुपैयाँ बराबरको ४ लाख ५४ हजार २५२ ओटा कारोबार भएको प्रतिवेदनले प्रस्ट पारेको छ।
प्रकाशित: २ फाल्गुन २०७८, सोमबार