
काठमाडौं ।
अमेरिकी रिपब्लिकन सांसदहरुले बाइडेन प्रशासनलाई चीनको एसएमआईसीमाथि निर्यात प्रतिबन्ध अझ कडा गर्न आग्रह गरेका छन्।
ती सांसदहरुले पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले ‘स्पष्टरुपमा राष्ट्रिय सुरक्षा जोखिम’ नाम दिएर लगाएको चीनको सर्वाधिक ठूलो चिप निर्माता कम्पनी एसएमआईसीमाथिको प्रतिबन्धमा कुनै कसर बाँकी नछोड्न आग्रह गरेका हुन्।
रोयटर्सका अनुसार टम कटन तथा बिल ह्यागर्टीले वित्त मन्त्री जिना राइमोन्डोलाई पठाएको पत्रमा आफूहरु मिडियामा आएका एसएसआईसीमाथिको प्रतिबन्ध कडा गर्ने प्रयासलाई विफल पार्न लागिपरेका रिपोर्टबाट निकै दुखी भएको उल्लेख गरेका छन्।
उनीहरुका अनुसार एसएमआईसीको सम्बन्ध चिनियाँ सेनासँग रहेको रोयटर्समा उल्लेख छ।
निर्यातमाथिको नियन्त्रणमा कडाइ गर्नाले नियममा रहेका छिद्र टालिने र चिनियाँ कम्युनिस्ट पार्टी तथा जनमुक्ति सेनालाई आफ्ना सैन्य आधुनिकीकरण कार्यक्रमका लागि अमेरिकी प्रविधि प्रयोगबाट रोक्न सकिने ती सांसदहरुले पत्रमा उल्लेख गरेका छन्।
उनीहरुले वित्त मन्त्री राइमोन्डोलाई थपिएका प्रतिबन्ध स्वीकार गर्ने कि नगर्ने भनेर पनि सोधेका छन्।
वित्त मन्त्रालय तथा एसएमआईसी दुवैले यस सम्बन्धमा कुनै टिप्पणी नगरेको रोयटर्सले जनाएको छ।
ट्रम्प प्रशासनले एसएमआईसीलाई चिनियाँ सेनालाई सहयोग गर्ने आरोप लगाउँदै सन् २०२० मा अमेरिकी वित्त मन्त्रालयको कालो सूचीमा राखेको थियो।
प्रकाशित: १९ माघ २०७८, बुधबार