भन्सार कार्यालयमा अनलाइन प्रणालीले आयात निर्यातकर्तामा उत्साह

  • Technology Khabar | १५ माघ २०७८, शनिबार
भन्सार कार्यालयमा अनलाइन प्रणालीले आयात निर्यातकर्तामा उत्साह

काठमाडौं ।

सरकारले भन्सार कार्यालयमा अनलाइन भुक्तानी सेवा प्रणाली कार्यान्वयमा ल्याएसँगै निकासी पैठारीकर्ताले यसको प्रयोग गर्न थालेका छन् । आयात निर्यातकर्ताले अनलाइनबाट राजस्व भुक्तानी गरेर मालवस्तुको भन्सार जाँचपास गराउन थालेका हुन् । विराटनगर भन्सार कार्यालयका भन्सार अधिकृत अमित तिवारीले बुधबारदेखि नै अनलाइन राजस्व भुक्तानी प्रयोगमा आइसकेको जानकारी दिए।

उनले बुधबार ३५ लाख, बिहीबार ५० लाख र शुक्रबार अघिल्ला दिनकै हाराहारीमा राजस्व अनलाइनबाट भुक्तानी भएको जानकारी दिए।

अनलाइन राजस्व तिर्ने सुविधा प्रयोगले व्यवसायीलाई राहत मिल्ने भन्सार प्रशासनको दाबी छ । व्यवसायीले प्रज्ञापनपत्रमा उल्लेखित रकम अनलाइन भुक्तानी गरेपछि राष्ट्रिय वाणिज्य बैङ्कले भन्सार क्षेत्रमै जम्मा भएको भौचर उपलब्ध गराउँछ । त्यसका आधारमा राजस्व दाखिला भएको विवरण उल्लेखित प्रज्ञापन पत्रलाई हेरेर जाँचपास हुने गर्दछ ।

गत बुधबार ७०औँ भन्सार दिवसको अवसर पारेर देशभरका २४ भन्सार कार्यालयमा अनलाइन भुक्तानी सुविधा सुरु गरिएपछि उद्योगी–व्यवसायीले समेत त्यसले भन्सार सहजीकरणमा सहयोग पु-याएको बताएका छन् ।

व्यवसायीले कार्यस्थलबाटै भन्सार राजस्व दाखिला गर्न पाउने भएपछि नगद वा चेकबाट हुने कारोबारको झन्झट अन्त्य हुने बताएका हुन् ।

उद्योगी पवन शारडाले अनलाइन भुक्तानी प्रणालीले पारदर्शितासँगै प्राविधिक रूपमा पर्ने समस्या अन्त्य भएको बताए । “चेक क्लियरेन्स भएर भन्सारको प्रणालीमा नगद जम्मा नहुँदासम्म हुने उल्झन अनलाइनले हटाएको छ,” उद्योगी शारडाले भने, “तत्काल रकम दाखिला भएको देखिने भएपछि भन्सार जाँचपासको समय घट्ने भएको छ। ”

यसैगरी अर्का उद्योगी प्रकाश मुन्दडाले ‘टेक्नोलोजी फर बेटरमेन्ट’ प्रणालीले अनावश्यक झन्झट हटाएको बताए । उनले अनावश्यक नगद र चेकको मुभमेन्टलाई हटाउन सक्नुले व्यापारमा सहजीकरण हुने बताए। उद्योगीलाई आफ्नो प्रशासनिक कार्यसम्पादनमा समेत अनलाइन भुक्तानी प्रणालीले सहज बनाउने बताए।

“रकम वा चेक व्यवस्थापन गरेर भन्सारसम्म पु¥याउनुपर्ने झन्झट हटेको छ,” उद्योगी मुन्दडाले भने, “दाखिला गर्नुपर्ने रकम बैङकिङ प्रणालीबाट कार्यस्थलबाटै पठाउन सक्ने भएपछि बाँकी काम सरासर अगाडि बढ्छ । ”

भन्सार कार्यालयका अधिकृत तिवारीले अनलाइनसँगै म्यानुअल रूपमा समेत राजस्व दाखिला गर्नसक्ने सुविधा विद्यमान रहेको बताउनुभयो तर निकासी–पैठारीकर्ताले बिस्तारै अनलाइन भुक्तानीलाई अपनाउँदै यसको प्रयोग बढाउँदा भन्सार जाँचपासको काम तुरुन्तै हुनसक्ने बुझाइ छ।

अनलाइन सेवासमेत भन्सारको आसिकुडा प्रणालीमा आबद्ध भएकाले विभिन्न प्रकारका कनेक्ट आईपीएस, कर्पोरेट पे, एनसीएचएल, बैङ्क, मोबाइल एप्स तथा डिजिटल वालेटमार्फत रावस्व दाखिला गर्न सकिनेछ। भन्सार परिसरमा मालवस्तु बोकेर आइपुगेका सवारीका चालकले क्लियरेन्स एजेन्ट खोज्नुपर्ने, क्लियरेन्स एजेन्टले राजस्व बुझाउन भन्सार कार्यालयमा जानुपर्ने, चेकबाट हुने भुक्तानी भन्सार प्रणालीमा प्रविष्ट नहुँदासम्म प्रतीक्षामा बस्नुपर्ने अवस्थाको अन्त्य अनलाइन प्रणालीले गरिदिएको हो ।

विराटनगर भन्सार एजेन्ट सङ्घका अध्यक्ष देवकीनन्दन शर्माले २१औँ शताब्दीको आवश्यकतालाई भन्सारले आधुनिकीकरण गर्दै व्यापारमा हुने सहजीकरणले भन्सार क्षेत्र थप आकर्षित र शान्त हुने विश्वास व्यक्त गरे। प्राविधिक रूपमा देखापर्ने कतिपय त्रुटिको अनलाइन प्रणालीले अन्त्य गरिदिएको अध्यक्ष शर्माको भनाइ छ । गोरखापत्र

प्रकाशित: १५ माघ २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...