लखनउमा टाटाको केबल काटिँदा नेपालको अधिकांश इन्टरनेट सेवा प्रभावित

  • Technology Khabar | १० माघ २०७८, सोमबार
लखनउमा टाटाको केबल काटिँदा नेपालको अधिकांश इन्टरनेट सेवा प्रभावित

काठमाडौं ।

नेपालमा भित्रने इन्टरनेटमा समस्या देखिएको छ। आज दिउँसोदेखि नै नेपाली प्रयोगकर्ताहरुले इन्टरनेटमा समस्या भोगिरहेको छन् ।

नेपालमा भारतबाटै आउने इन्टरनेट सेवामा समस्या देखिएसँगै नेपाली प्रयोगकर्ताहरुले समेत समस्या भोगेको इन्टरनेट सेवा प्रदायकहरुले जनाएका छन्।

नेपाली बजारमा भारतीय सेवा प्रदायक टाटाको इन्टरनेट सेवा लिएका नेपाली व्यवसायीहरुको सेवामा समस्या आएको हो।

इन्टरनेट सेवा प्रदायक सेवा संघ नेपाल (आईस्पान) का अध्यक्ष तथा सुबिसु केबलनेट लिमिटेडका अध्यक्ष सुधिर पराजुलीले आज अधिकांश सेवा प्रदायकहरुको सेवामा समस्या आएको बताए। उनकाअनुसार नेपालको करिब ३० देखि ४० प्रतिशत इन्टरनेट कनेक्सनमा समस्या आएको हो।

“आज टाटाको लखनउमा भएको सिस्टममा स्वीच डाउन भएको जानकारी आएको छ, त्यसले गर्दा समस्या आएको हो,” अध्यक्ष पराजुलीले टेक्नोलोजीसँग भने, “इन्टरनेट ट्राफिक अर्कोतर्फबाट पठाउँदा लोड बढेपछि इन्टरनेट स्लो भएको हो। हामीले पनि टाटामार्फत इन्टरनेट लिएको हुँदा केही समस्या आएको छ।”

उनकाअनुसार नेपालमा आउने दुईओटा रुटमा नै समस्या भएको र यो समस्या रातीसम्ममा समाधान हुने जानकारी दिएको छ।

उता भायनेट कम्युनिकेसन्सका सिईओ बिनय बोहराले भने यो समस्याको बारेमा आफूलाई कुनै जानकारी नभएको बताए।

“हाम्रो कम्पनीको इन्टरनेट बिहान स्लो भयो भन्ने केहि गुनासो थियो तर नेपालको इन्टरनेट नै पुरै समस्यामा परेको थाहा छैन्, म आफैंले बुझ्छु,” बोहराले भने।

एक अर्का इन्टरनेट सेवा प्रदायकले पनि अधिकांश सेवा प्रदायकको इन्टरनेटमा र मोबाइल डाटामा समस्या आएको बताए। उनले भने, “नेपालका अधिकांश सेवा प्रदायकहरुको इन्टरनेट ट्राफिकमा असर पारेको छ।”

यस्तै नेपाल टेलिकमको मोबाइल डाटामा समस्या नभएपनि एनसेलको डाटामा समस्या आएको केहि ग्राहकहरुले गुनासो गरेका छन्। त्यसैगरी टेकमाइण्डको पुरै सेवामा अवरोध आएको छ भने वर्ल्डलिंकको आंशिक इन्टरनेट ट्राफिक मात्र प्रभावित भएको बताईएको छ।

*शीर्षक सम्पादित

प्रकाशित: १० माघ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...