
काठमाडौं ।
महालेखा परीक्षकको कार्यालयले यो वर्षदेखि विद्युतीय प्रणाली (अनलाइन) बाटै लेखा परीक्षण गर्ने भएको छ। परम्परागत हस्त लिखित (म्यानुअल) प्रणालीलाई पूर्ण रूपमा विस्थापन गरेर अनलाइन प्रणाली कार्यान्वयनमा ल्याउन लागिएको कार्यालयले जनाएको छ।
विद्युतीय प्रणाली कार्यान्वयनमा आए पनि परम्परागत प्रणालीमा देखिएको झन्झटबाट मुक्ति मिल्ने र सेवा प्रवाह चुस्त हुने विश्वास लिइएको महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले बताए।
उनले भने, ‘अहिले पनि हाम्रो लेखा परीक्षणको काम अन्तर्राष्ट्रियस्तरको छ । आउने दिनमा पनि कार्य सम्पादनमा कमी हुन दिने छैनौँ । सूचना प्रविधिको प्रयोगले झन् सहज बनाउनेछ।’
कार्यालयले लेखा परीक्षण कार्यलाई प्रभावकारी बनाउन छ वर्षे कार्ययोजना बनाएर कार्यान्वयनमा ल्याइसकेको छ । शर्माका अनुसार अबदेखि लेखा परीक्षणको योजनादेखि प्रतिवेदन लेखनसम्मको काम सूचना प्रविधिबाटै हुनेछ ।
कार्यालयबाट हरेक वर्ष छ हजार कार्यालयको लेखा परीक्षण हुँदै आएको छ । यी सबै काम अहिले केन्द्रीय कार्यालयबाट हुँदै आएका छन् । गोरखापत्र
प्रकाशित: १० मंसिर २०७८, शुक्रबार