
काठमाडौं ।
पेटीएमले भारतको हालसम्मको सबैभन्दा ठूलो एंकर राउन्डमार्फत १ अर्ब डलर संकलन गरेको छ। कम्पनीले आफ्नो आईपीओ जारी गर्ने क्रममा यो परिमाणको रकम संकलन गर्न सफल भएको हो।
उक्त एंकर राउन्डमा ब्ल्याकरक, जीआईसी, क्यानडा पेन्सन प्लान इन्भेस्टमेन्ट बोर्ड, बिरला एमएफ लगायतले फाइनान्स गरेका थिए। पेटीएमले स्थानीय एक्सचेन्जमा आफ्नो विवरण दर्ता गर्दै यस्तो जानकारी दिएको हो।
पेटीएमको शेयर लिनका लागि मागभन्दा १० गुणा बढीको आवेदन परेको संस्था निकट स्रोतले बताएको टेकक्रन्चले जनाएको छ।
बुधबारको उक्त लगानीपछि पेटीएमले आईपीओमार्फत् उठाउन खोजेको २ अर्ब ४५ करोड डलरको आधा हिस्सा पक्का गरेको छ।
थुप्रै वित्तीय सेवाहरु प्रदान गर्दै आएको उक्त स्टार्टअप कम्पनीले आईपीओमा १९ अर्बको मूल्यांकनको अपेक्षा गरेको गत हप्ताको पत्रकार सम्मेलनमा बताएको थियो।
अलिबाबा, बर्कशायर ह्याथवे तथा सफ्टब्यांकको समर्थनमा सञ्चालित पेटीएमको मूल्यांकन यसभन्दा अघि सन् २०१९ को उत्तरार्द्धमा भएको फन्डिङ राउन्डमा १६ अर्ब डलर गरिएको थियो।
प्रकाशित: १८ कार्तिक २०७८, बिहीबार