
काठमाडौं ।
भारतमा राजस्थानको जयपुर भन्ने ठाउँमा केबल भएको इयरफोन कम्प्युटरमा जोडेर गीत सुन्दै गर्दा कानमै इयरफोन पड्किएर एक युवकको मृत्यु भएको छ।
युवकले कम्प्युटर मा इयरफोन जोडेर गीत सुनिरहेको बेला ठूलो आवाजका कारण इयरफोन अचानक कानभित्रै पड्किएर कानबाट रगत बग्न थालेको बताइएको छ। उनलाई तत्काल अस्पताल पुर्याउँदा डाक्टरहरुले मृत घोषित गरेका भारतीय सञ्चारमाध्यमले जनाएको छ।
कार्डियाक अरेस्टका कारण मृत्यु: डाक्टर
डाक्टरहरुले इयरफोन पड्किएर अचानक आएको ठूलो आवाजका कारण युवकलाई ‘कार्डियाक अरेस्ट’ भएर उनको मृत्यु भएको बताएका छन्।
मृत्यु हुनेमा जयपुरको सीकर हाइवेमा रहेको उदयपुरिया नामको गाउँमा बस्ने २८ वर्षका राकेश नागर रहेको बताइएको छ। उनले पढ़ाइका लागि प्राय कप्युटरको प्रयोग गर्ने बुझिएको छ।
तर शुक्रबार दिउँसो भने उनी आफ्नो घरमा पुरानो कम्प्युटरमा इयरफोन जोडेर गीत सुनिरहेका थिए। यति नै बेला अचानक इयरफोनको स्पीकर पड्कियो र उनको मृत्यु हुन पुग्यो। परिवारजनले पनि घटनाका बेला उनी इयरफोन लगाएर गीत सुन्दै पढिरहेको बताएका छन्।
घटना हुँदा परिवारजन खेतमा थिए
घटनाका बेला नागरका परिवारका सदस्य सबै खेतमा गएका र उनी कोठामा एक्लै रहेका बताइएको छ। उनकी आमा र बहिनीलगायत अन्य सबै सदस्य घर नजिकैको खेतमा काम गरिरहेका बेला अचानक आएको ठूलो आवाज सुनेर सबै दोडेर घर आएका थिए। उनलाई तुरुन्तै हस्पिटल लगिए पनि डाक्टरहरुले मृत घोषित गरिदिए। परिवारले उनको पोस्टमार्टम गराएनन् ।
कम्प्युटर र इयरफोन दुवै पुराना थिए
नागरले घटनाका बेला प्रयोग गरेको इयरफोन र कम्प्युटर दुवै धेरै पुराना रहेका बताइएको छ। इयरफोन कुनै स्थानीय कम्पनीको भएको र कम्प्युटरको ब्रान्डबारे अहिलेसम्म नखुलेको समाचारमा उल्लेख छ।
प्रकाशित: २४ श्रावण २०७८, आईतवार